भारत र चीनबीचको तनावको नयाँ केन्द्र बन्दैछ पाकिस्तान अधीनस्थ कश्मीर



एजेन्सी : लद्दाख, सिक्किम र अरुणाचल प्रदेशपछि भारत र चीनबीचको विवादको नयाँ केन्द्र पाकिस्तान अधीनस्थ कश्मीर बन्न सक्ने देखिएको छ ।

गिल्गिट–बाल्टिस्तान क्षेत्रमा चीनले पाकिस्तानका लागि दियामेर–भाषा बाँध बनाउन शुरू गरेको छ । भारतले कडा विरोध गरेको भए पनि चीनले यो बाँध निर्माण शुरू गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीवार बाँधको निर्माण कार्यको शुभारम्भ गरेका छन् ।

चीन विगत ५० वर्षदेखि यो बाँध बनाउन खोजिरहेको थियो तर सकिरहेको थिएन । बाँध सन् २०२८ सम्ममा यो पूरा हुनेछ र यसको लागत लगभग ८ अर्ब डलर हुनेछ ।

बाँध बनेपछि ४५ सय मेगावाट बिजुली निर्माण हुनेछ ।

चीनले यो बाँध चीन पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत बनाइरहेको हो । गिल्गिट बाल्टिस्तान क्षेत्र हुँदै यो कोरिडोर जान्छ ।

पूरा प्रोजेक्टको ७० प्रतिशत खर्च चीनको सरकारी कम्पनी चाइना पावरले गरेको छ । अनि ३० प्रतिशत खर्च चाहिँ पाकिस्तानी सेनाको व्यावसायिक इकाइ फ्रन्टियर वर्क्स अर्गनाइजेसनले गर्नेछ ।

चीनले विगत दुई महिनामा पाकिस्तानसँग दुई सम्झौतामा हस्ताक्षर गरेको छ । त्यसअन्तर्गत उसले पाकिस्तान अधीनस्थ कश्मीरमा ४ अर्ब डलर लगानी गर्नेछ । चीनले त्यहाँ १८ सय मेगावाट जलविद्युत् परियोजना विकसित गर्ने भएको छ ।

अमेरिकाको विल्सन सेन्टरको एसिया मामिलाका उपनिर्देशक माइकल कुगलम्यानका अनुसार, चीनको यो कदम भारतका लागि ठूलो झड्का हो । दुई देशबीचको तनावपूर्ण सम्बन्धलाई यसले झनै बिगार्नेछ ।

प्रतिक्रिया दिनुहोस्