सीके राउतलाई सँगै राखेर सहमतिबारे स्पष्ट पार्नुपर्छः उदय शम्शेर राणा



स्याञ्जाः नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणाले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिले अन्यौलता सिजर्ना गरेको भन्दै यसबारे स्पष्ट पार्नुपर्ने माग गरेका छन् । उनले सहमतिमा उल्लेखित जनअभिमत शब्दलाई सहमतिकर्ता दुई पक्षले आफूअनुकुल व्याख्या गरेकोले दुई पक्ष सँगै बसेर सहमतिबारे स्पष्ट पार्न माग गरे ।

‘सहमति भएको दुई दिन नबित्दै सीके राउतले मधेशबारे जनमत संग्रह हुने भनेर भनिरहेका छन्’, उनले भने, ‘तर सरकार जनमतसंग्रह होइन भनिरहेको छ, यथार्थ के हो, सहमतिमा हस्ताक्षरकर्ता दुबै सँगै बसेर जनतालाई स्पष्ट पार्नुपर्छ ।’

पूर्वअर्थराज्यमन्त्रीसमेत रहेक कांग्रेस नेता राणाले मुलुक बिखण्डनको अभियान चलाइरहेको समुह अखण्डताका पक्षमा आउनु सकारात्मक भएपनि सत्तारुढ दलकै नेताहरुको विरोधले सहमतिबारे आशंका उब्जिएको बताए । ‘कतै सरकारले आमनागरिकलाई गुमराहमा राखेर मधेशमा जनमतसंग्रह नै गर्न खोजेको त होइन’, उनले भने, ‘यदि त्यसो हो भने हाम्रा लागि स्वीकार्य हुन सक्दैन । कांग्रेस मुलुकको अखण्डताका लागि जस्तोसुकै लडाइँ लड्न पनि तयार छ ।’

नेता राणाले मुलुकको भौगोलिक विभाजनका लागि जनमतसंग्रह हुनै नसक्ने दावी गरे । विश्वका अन्य मुलुकमा पनि पृथकतावादी अभियान नचलेका होइनन् तर कँही पनि जनमतसंग्रह हुने कुरालाई स्वीकार गरिएको छैन, सरकारले यस्ता गतिविधिमा संलग्नलाई निरुत्साहित गर्नैपर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्