‘देशभन्दा ठूलाे अरु केही छैन, धम्कीदेखि तर्सिन्नँ’ : भीम रावल



काठमाडौं : नेकपाका नेता भीम रावलले सिके राउतसँग सरकारले गरेको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेपछि उनका विरुद्ध विभिन्न कुप्रचार भएका छन् । देशको पक्षमा बोल्दा आफ्नो कुप्रचार भएको भन्दै उनले प्रतिरोध गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा पोष्ट गर्दै रावलले त्यतिबेला नेपालको शान्ति सुरक्षा बिग्रिएको र आफू गृहमन्त्रीमा नियुक्त हुँदा अमेरिका मात्र नभएर अन्य देशका कुटनीतिज्ञले समेत स्वागत गरेको स्मरण गरेका छन् ।

उनले भनेका छन्, ‘नेपालमा सुरक्षा स्थिति बिग्रिएको बेला संभवत क्षमता र अनुभव हेरेर होला गृहमन्त्रीमा मेरो नियुक्तिलाई अमरिकी कूटनीतिज्ञले मात्र होइन प्रमुख देशका कूटनीतिज्ञले स्वागत गर्दै विशेष सुरक्षा नीतिको समर्थन गरेका थिए । यसलाई कसैको खबरी भन्ने जस्तो निकृष्ट प्रायोजित कुप्रचार गरिदैंछ ।’

साथै उनले नेपाल आमालाई गालिगलौज गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिएको भन्दै असन्तुष्टी पनि पोखेका छन् । उनले भनेका छन्, ‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्राउन विदेशीहरूसँग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिँदै अलग देशको नेतासँगझंै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरितका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैन ।

भीम रावलसँगै वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले पनि सहमतिमा शंका गरेका छन् । तर प्रधानमन्त्री ओली पक्षका नेताहरुले भने त्यसको बचाउ गर्दै आएका छन् ।

तर, यसमा नेकपाका सांसद भने विभाजित देखिएका छन् । आइतबार भएको संसद बैठकमा राउतसँगको सहमतिमा शंका गरेका भीम रावललाई लक्षित गर्दै ओली पक्षीय नेता महेश बस्नेतले रावललाई सिटामोल खान सुझाव दिएका थिए । नेता रावलले बस्नेतको भनाइको जवाफ सामाजिक सञ्जाल ट्वीटर मार्फत दिएका थिए ।

यहि क्रममा सोमबार बिहान प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सम्झौताको विरोध गर्ने वा त्यसमा शंका गर्नेलाई लक्षित गर्दै व्यंग्यात्मक ट्वीट गरेका थिए ।

उनले लेखेका छन्, ‘नेताहरु झुक्किए, फसे वा फसाइए या तिनिहरुले गल्ति नै गरे पनि केही कुरा छैन–हामी धन्य छौं । मुलुक जोगाउने एक–से–एक उहाँहरु हुनुहुन्छ । आङ् सिरिङ्ग हुन्छ र साह्रै आश्चर्य लागिरहेको छ, उहाँहरुको जन्मअघि यो मुलुक कसरी जोगिए छ ?’

रिमालले ‘मुलुक जोगाउने एक–से–एक उहाँहरु’ भनेर भीम रावलसहितका नेतालाई संकेत गरेका हुन् । सीके राउतसँगको सम्झौताले नेकपाभित्र आन्तरिक मिलेमतोको विपरित कलहले घनिभूत रुप लिँदै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्