चिनियाँ नागरिकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

बुधबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

पछिल्लो पटक कोरोनाबाट मृत्यु हुनेमा महोत्तरीका ६० वर्षीय पुरुष र ५८ वर्षीय चिनियाँ नागरिक महिला रहेकी छन् ।

६० वर्षीय पुरुषको धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास प्रश्वासमा समस्या आएपछि ती व्यक्ति उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगेका थिए । अस्पतालमा स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । आईसियूमा उपचारको क्रममा मंगलबार राति उनको आइसोलेसशन वार्डमा मृत्यु हो ।

यस्तै, काठमाडौंको शिक्षण अस्पतालमा कोरोनाको उपचार गराउँदै आएका एक ५८ वर्षीय चिनियाँ महिलाको मृत्यु भएको हो । मंगलबार बेलुका अस्पताल भर्ना भएकी ती महिलाको बुधबार बिहान मृत्यु भएको हो । उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराको लेकसाइडबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा रेफर गरिएको थियो ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्