एकीकृत समाजवादीले सार्‍यो केन्द्रीय कमिटी बैठक



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)केन्द्रीय कमिटी बैठक सारेको छ । यसअघि वैशाख २८ गतेका लागि तय भएको बैठक आन्तरिक तयारी नपुगेकाले वैशाख ३१ गतेका लागि सारिएको एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले जानकारी गराए ।

वैशाख ३१ देखि दुई दिनसम्म चल्ने बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत हुने पार्टीको वैचारिक दृष्टिकोण, जन वर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने छ ।

बैठकबाट देशभर पार्टी सङ्गठनको अवस्था, आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफलका साथै प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी बाँडफाँड पनि गरिने छ ।

बैठकमा आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गर्ने र सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजनाबारे छलफल गरिने छ ।

सो पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको छ। यसअघि जेठ ३ देखि ७ गते सम्मका लागि तय भएको महाधिवेशन असारमा सारिएको हो।

प्रतिक्रिया दिनुहोस्