भ्रष्टाचार विरुद्ध आवाज उठाउदा पर्सामा दुई जना पक्राउ



वीरगञ्ज : भ्रष्टाचार विरुद्ध आवाज उठाउने २ जनालाई पक्राउ गरि पर्सा प्रहरीले सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।

कालिकामाइ गाउँपालिका–४ प्रशुरामपुरका दाजुभाई पञ्चायत गर्न प्रहरी कार्यालय पुग्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले स्थानिय सन्जय साह गोढ र रन्जित साह गोढलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले बताए ।

जनप्रतिनिधिले प्रशुरामपुरमा गरेको विकास निर्माणको काममा व्यापक अनियमितता गरेको भन्दै पक्राउ परेका दुई दाजुभाईसहित स्थानियले बिरोध गरेका थिए ।

साथै उनीहरुले अनियमितता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी समेत दिएका थिए । तर, भ्रष्टाचारीलाई जोगाउनको लागि नै गाउँपालिकाको जनप्रतिनिधिको दवावमा प्रहरीले उल्टै उनिहरुमाथी सार्वजनिक मुद्दा दर्ता गरि नियन्त्रणमा लिएको स्थानियको आरोप छ ।

गत असार ३० गते वडामा भइरहेको सडक ढलान मापदण्ड विपरित भएको भन्दै स्थानियहरु विरोध गरेका थिए । सोही अनियमितताको सम्बन्धमा छानविनको माग गर्दै स्थानिय संजय कुमार साह, बैदनाथ राउत बरै, सिकेन्द्र देवान लगायतका ४ जनाले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए ।

सोही विषयलाई लिएर बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा हुने भनिएको पञ्चायतीमा सहभागि हुन आएका निवेदक संजय साह गोढ र उनका भाई रंजित साह गोढलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी पर्साका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक कुवँरसँग बुझ्दा विकास निर्माणको काममा खलल पुर्याउने खसुरमा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए । तर, प्रहरी प्रवक्ता कुँवरले कस्तो किसिमको विकास निर्माणको काममा बाधा पुर्याएका हुन भनेर सोध्दा खुलाउन चाहेन । भ्रष्टाचारी विरुद्ध खुलेर बोल्दा जनप्रतिनिधिले पद र पैसाको बलमा सर्वसाधारणको आवाज दबाउने गरेको जानकार बताउछन ।

प्रकाशित : साउन ८, २०७७

प्रतिक्रिया दिनुहोस्