उपभोक्ता ठग्ने  ३५ फर्मलाई  मुद्दा चलाईयो



काठमाडौँ : विश्व उपभोक्ता अधिकार दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइयो। सन् १९६२ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले पहिलोपल्ट उपभोक्ता अधिकारसम्बन्धी अवधारणा प्रस्तुत गरेको सम्झनामा बर्सेनि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरेको छ। 

नेपालको सन्दर्भमा भने उपभोक्ता जागरुक नभएको र व्यापारी उद्योगीले त्यसको गलत फाइदा उठाइरहेको गुनासा नआएका हैन। समयको  परिवर्तनसँगै उपभोग्य वस्तुको माग र खरिद गर्ने तरिका भनौं अथवा माध्यम फेरिएका छन्।

वस्तु तथा सेवाको साटासाटबाट सुरु भएको व्यापार हाट, बजार हुँदै अहिले घरमै बसेर किनबेच गर्न सकिने भएको छ।  विश्व डिजिटल मार्केट अघि बढिरहँदा यसका राम्रा र नराम्रा दुवै पाटा देखिएका छन् र यस्ता सेवाबाट उपभोक्ता ठगिएका समाचार पनि आइरहेका छन्। 

यसवर्ष केही नेपाली बैंकका अनलाइन खाताबाट रकम चोरिएका समाचार निकै चर्चामा आयो। अनलाइनमा राखेका वस्तुका तस्बिर हेरेर किन्दा बेकामे सामान दिने संयन्त्र पनि हाम्रै समाजमा छ । 

आजको विश्व बजारमा उपभोक्ता ठगिन सक्ने र अन्यायमा पर्न सक्ने प्रसस्त ‘लुपहोल’ देखिएका छन्। हामी पनि यसबाट अछुतो छैनौं। कैयौं नेपाली उपभोक्ता दिनहुँ ठगिइन्छन्। 

कम तौल, मिसावट, न्यून गुणस्तर जस्ता समस्या नेपाली उपभोक्ताले झेलिरहेको समस्या हो। यसको समाधानमा सरकार र सम्बन्धित पक्षले ध्यान नदिएको राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन बताउँछन्। 

ऐन कानुनले उपभोक्ता अधिकार सुनिश्चित गरे पनि यसको कार्यान्वयन फितलो रहेको उनको भनाइ छ। संविधानमा उपभोक्ताको अधिकार मौलिक हकमा समावेश गरिए पनि त्यो हक कार्यान्वयन गर्न नभइ नहुने नियमावली र निर्देशिका अहिलेसम्म नबन्नु दुःखद भएको उनले बताए। 

सरकारले गर्नुपर्ने जति काम गर्न नसकेको उनको आरोप छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निरीक्षण अधिकारीलाई दक्ष बनाउन आवश्यक रहेको बताउँदै सरकारले तालिम र उपभोक्ता हितसम्बन्धी अझ प्रभावकारी ढंगले निति निर्माणदेखि लिएर प्राविधिक कुरामा पनि ध्यान दिनुपर्ने बताए । साथै बजार अनुगमनका तिब्रता दिई उल्लंघन गर्नेलाई कानुनी कार्वाही गर्नुपर्ने बताए  ।

 

‘उपभोक्ता ठगिन दिन्नौं’ 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस वर्ष उपभोक्ता ठग्ने  ३५ फर्मलाई  मुद्दा चलाएको विभागका प्रवत्ता पूर्णचन्द्र वस्तीले बताए। वस्तीका अनुसार उपभोक्ता हितविपरीत उत्पादन र बेचबिखन गर्ने फर्ममाथि कारवाही गरिएको छ। 

उपभोक्ताको स्वास्थ्यमा विभाग गम्भीर रहेकाले अनुगमनलाई प्राथमिकता दिएको उनको भनाइ छ। विभागको एक्लो प्रयासले मात्र यस्तो ठगी नियन्त्रण सम्भव नहुने भएकाले स्थानीय तहसँग समन्वय गर्ने बताए। उनले कहीं कतै ठगिए उजुरी गर्नसमेत उपभोक्तासँग आग्रह गरेका छन्।

उपभोक्ता ठगिन नदिन मातहतका कार्यालयलाई सक्रिय बनाइएको दाबी गरे। संविधानको धारा ४४ मा उपभोक्ताको हकसम्बन्धी व्यवस्था छ। त्यसमा सबै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उपभोग गर्न पाउने हक हुने उल्लेख छ। 

साथै गुणस्तरीय वस्तु वा सेवाबाट क्षति पुगेको व्यक्तिले कानुन बमोजिम क्षतिपूर्ति पाउने हक पनि संविधानमा सुनिश्चित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्