२०७६ सालमा १५ दिन मात्र सार्वजनिक विदा



काठमाडौँ : सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ। शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले धर्म, संस्कृति, भौगोलिक क्षेत्र सबै स्थानलाई मध्यनजर गरि १५ दिनमात्र सार्वजनिक विदा दिएको हो।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते सार्वजनिक विदा दिइएको छ। जेठ महिनामा ४ गते एक दिनमात्र विदा दिइएको छ भने असार, साउन र भदौ महिनामा एक दिन पनि सार्वजनिक विदा दिइएको छैन।

असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक विदा दिइएको छ। असोजमै १८ देखि २२ गतेसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन दशै विदा दिइएको छ।

कात्तिक महिनामा तिहारका लागि तीन दिन विदा परेको छ। कात्तिक १० गतेदेखि १२ गतेसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन विदा दिइएको छ।

मंसिर,पुस र माघ महिनामा देशभर लागू हुने गरी विदा दिइएको छैन। फागुन महिनामा ९ गते महाशिवरात्री र २५ गते अन्तर्रा्ष्ट्रिय महिला दिवसमा सार्वजनिक विदा दिइएको छ।

त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते विदा दिइएको छ। चैत महिनामा भने सार्वजनिक विदा परेको छैन।

महिला कर्मचारीहरुलाई भने १६ गते तीजका दिन सार्वजनिक विदा दिइएको छ। जितिया पर्व मनाउने मधेसका महिला कर्मचारीले भने असोज ५ गते पनि विदा पाउनेछन्। त्यस्तै, अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते अन्तर्रा्ष्ट्रिय अपांगता दिवसमा विदा दिइएको छ।

शिक्षण संस्थाहरुमा माघ १६ गते श्रीपञ्चमीको दिन पनि विदा दिइएको छ। जसमा काठमाडौं उपत्यकामा ४ वटा जात्राको दिन विदा दिइएको छ। त्यस्तै कात्तिक २५ गते फाल्गुनन्द जयन्तीमा किराँत धर्माबलम्बीलाई र कात्तिक २६ गते गुरु नानक जयन्तीमा नेपाली शिख धर्माबलम्बीलाई विदा दिइएको छ।

किरात, राई, याख्या, सुनुवार, लिम्बुजातिले उभौली पर्व चण्डी पूर्णिमाका दिन जेठ ४ गते विदा पाउनेछन्। किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्हीका दिन मंसिर २६ गते उनीहरुलाई सार्वानकि विदा दिइएको छ।

सुदूरपश्चिम क्षेत्रमा गौरा पर्वका दिन भदौ ६ गते विदा हुनेछ। मधेसमा कात्तिक १६ गते शनिबार छठ पर्वको विदा हुनेछ। इस्लाम धर्मावलम्बीहरुले इद (इदुल्ल फित्र) र इदुल (इदुल जोहा)का दिन विदा पाउनेछन्।

इसाइ धर्मावलम्बीलाई क्रिसमस डेमा पुस ९ गते विदा हुनेछ भने गुरुङ समुदायले तमु ल्होसारमा पुस १५ गते विदा पाउनेछन्। माघे संक्रान्तिमा माघ १ गते थारु, मगर, छन्त्याल जातिलाई विदा दिइएको छ।

तामाङ समुदायले माघ ११ गते सोनम ल्होसारमा विदा पाउनेछन्। हिमाली आदिवासी शेर्पाहरुले ग्याल्बो ल्होसारको दिन फागुन १२ गते विदा पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्