सत्तारुढ पार्टीमा विभाजित मनोविज्ञान : पूर्वमाओवादी केन्द्र र पूर्वएमाले !



पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी सदस्य र मन्त्री बनेकाले प्रम ओलीतिर लागेपछि लेखराज भट्टलाई दुवै जिम्मेवारीबाट राजीनामा दिन अध्यक्ष दाहालको निर्देशन

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र मनोविज्ञान माथिदेखि तलसम्म विभाजित भइसकेको छ । दुई अध्यक्ष र शीर्षनेता एकथरी बालुवाटार र अर्काथरी खुमलटार बस्दै आएका छन् । उनीहरुको पार्टी हेडक्वाटर भिन्दाभिन्दै भएसँगै कार्यकर्ता पनि विभाजित हुन पुगेका छन् । आआफ्ना मानिससँगको भेटमा एकले अर्कालाई दोष लगाउने र उछित्तो काढ्ने गरिरहेका छन् ।

प्रधानमन्त्रीले मलाई सुकुम्बासीजस्तै व्यवहार गरे भन्दै बारम्बार अभिव्यक्ति दिएका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफुपक्षधर सुदूरपश्चिम प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुक र पार्टी सङ्कटपूर्ण अवस्थामा धकेलिएको बताएका छन् । शुक्रबार दाहालनिवास खुमलटार पुगेका नेकपाका सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहितका कार्यकर्ताको भेटघाटमा उनले यसो बताएका हुन् ।

‘डेरावालले घरबेटी लखेट्ने’, ‘भैंसी किनेपछि जुम्रा त्यसै आइहाल्ने’, ‘कतै शरण नपाएकालाई शरण दिइएको’, ‘औंलो दिँदा डुँडुलो निल्ने’ आदि दुर्वचन आफुले सहँदै आएको भन्दै दाहालले आफुले कम्युनिष्ट आन्दोलनलाई एक ठाउँमा ल्याउन, सबल र सुदृढ बनाउन पार्टी एकता गरेको बताएका थिए । तर, अर्का अध्यक्ष ओलीले आफुहरुलाई हिजोको माओवादी केन्द्रकै दृष्टिले हेर्ने र तदनुरुप व्यवहार गर्ने गरिरहेको दुखेसो पनि पोखेका थिए ।

पार्टी एकढिक्का रहिराखोस् भनेर आफुले सहमतिबाट पछि हटेर, समझदारीका लागि ओलीलाई पाँच वर्ष सरकार चलाउन, आफुले पार्टी चलाउन नयाँ सहमति गरेको कुराकानीका क्रममा बताएका थिए । सुदूरका नेता–कार्यकर्तासँग दाहालले भनेका थिए, यही सदाशयतालाई ओलीले कमजोरीका रुपमा लिएपछि उनको स्वेच्छाचारितालाई टुलुटुल हेर्न विवश भएको गुनासासमेत व्यक्त गरेका थिए ।

त्यसक्रममा आफुसँग ३५ वर्ष निरन्तर सहकार्य गर।रेका लेखराज भट्टलाई उनले मागेको जिम्मेवारी दिएको, मन्त्री बनाएको भए पनि अहिले आफुलाई छाडेर ओलीतिर लागेको गुनासो गरेका थिए । भट्टमा गम्भीर प्रकारको विचलन देखिएको भन्दै यो । प्रचण्ड अर्थात् पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी कमिटी सदस्य बन्ने, मन्त्री पनि बन्ने तर ओलीजीको वकालत गरिराख्नुभएको छ । ओलीजी तिरै लाग्नु छ भने स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गरे भइहाल्यो नि !” प्रचण्डको भनाइ उद्धृत गर्दै खगराजले भने ।

कुराकानीका अन्तिममा प्रचण्डले पार्टीलाई कुनै पनि हालतमा विभाजन हुन नदिने बताएका थिए । पार्टी अध्यक्ष ओलीले विभाजनको तयारी गरिसकेको भए पनि अहिले, पेलान, उत्पीडनमा परेकाहरू एकजुट भएको (प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल समूहको गठबन्धनका रूपमा) सबैले प्रयास गरेर दुर्घटनाको बाटोमा जान नदिने प्रयास गरिरहेको र पछिल्लो संवाद त्यसैमा केन्द्रित रहेको प्रचण्डले बताएका थिए ।

प्रचण्डले ओली कित्तामा लेखराज लागे पनि विचलित नभई पूर्वमाओवादी केन्द्र समूहको मर्म, भावनालाई बोकेर जनताबीच जान, पार्टी काम गर्न सबैलाई निर्देशन पनि दिएका थिए ।

लेखराजको स्थान रिक्त हुन नदिई, त्यसको असरको छनकसम्म हुन नदिई कार्यसम्पादन गरेको भन्दै खगराजलगायत नेताहरूको मुक्तकण्ठले प्रशंसा पनि गरेका थिए ।

प्रकाशित : साउन ११, २०७७

प्रतिक्रिया दिनुहोस्