गुगलले ‘वर्क फ्रम होम’को समय अर्को वर्षको जुनसम्म बढायो



एजेन्सी : गुगलको माउ कम्पनी अल्फाबेटका प्रमुख कार्यकारी सुन्दर पिचाईले सोमबार आफ्ना कर्मचारीहरूलाई आगामी वर्षको मध्यसम्म कामका लागि कार्यालयमा आउनुनपर्ने बताएका छन् ।

कर्मचारीले गत मार्चदेखि नै घरबाट काम गर्दै आइरहेका उनीहरूलाई कम्पनीले यसअघि आगामी जनवरीबाट कार्यालय सुरू हुनसक्ने बताएको थियो ।

‘कर्मचारीलाई अगाडिको योजना बनाउन सजिलो होस् भन्नका लाहि हामीले ‘वर्क फ्रम होम’लाई जुन ३०, सन् २०२१ सम्मका लागि बढाउने भएका छौं’, गुगलका एक प्रवक्ताले भने ।

यो कार्यालयमा भौतिकरूपमा उपस्थित भएर काम गर्नुपर्ने कर्मचारीको हकमा भने लागु हुनेछैन ।

प्राविधिक कम्पनीहरूले कोरोनाको महामारी सुरू हुनेबित्तिकै घरबाट काम गर्ने नीतिलाई अबलम्बन गर्न सुरू गरेका थिए ।

उनीहरू आफ्ना कर्मचारीलाई तत्कालै कार्यालयमा फर्काउन इच्छुक छैनन् । मेमा फेसबुकले आफ्ना धेरै कर्मचारीलाई स्थायीरूपमै घरबाट काम गर्न दिने घोषणा गरेको थियो ।

यस कदमले कोरोना भाइरसको महामारी कति लामो समय जान्छ भन्नेमा कोही निश्चिन्त नरहेको देखाएको छ ।

न्यू योर्क जस्ता शहरमा संक्रमणदरमा कमी आउँदै गरेको भएपनि हाल अमेरिकामा कोरोना भाइरसको नयाँ महामारी सुरू भइसकेको छ ।

यो निर्णयको समाचार सुरूमा द वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्