नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छैन : प्रवक्ता श्रेष्ठ



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले एकतर्फी रुपमा बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु बालुवाटार पुगेका छन् ।

दुई अध्यक्षबीच छलफल बिनै ओलीले बैठक स्थगित भएको सूचना जारी गर्न लगाएको सूचना नेताहरुले थाहा पाएपछि सचिवालय र स्थायी कमिटीका नेताहरु पनि बालुवाटार पुगेका छन् ।

प्रवक्ता श्रेष्ठले बैठक स्थगित नभएको र आफूहरु बैठक कक्षमा भएको बताएका छन् ।

‘हामी बैठक कक्षमा छौं । दुई अध्यक्षबीचको सहमतिमा आज ११ बजे बैठक बस्ने भनेर निर्णय भएको हो । त्यसलाई परिवर्तन गर्न कम्तीमा पनि दुई अध्यक्षको सहमति हुनुपर्छ,’ प्रवक्ता श्रेष्ठले भने–‘दुई अध्यक्षबीच सहमति भएको पनि हैन । त्यसकारण निर्धारित समय अनुसार हामी बैठकमा आएका छौं ।’

बैठक सुचारु गरेर नियमित एजेण्डामा छलफल गर्ने तयारी अध्यक्ष दाहाल–नेपाल समूहको छ ।

यसअघि पार्टीका दुई अध्यक्षबीच छलफल बाँकी रहेकाले मंगलबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं सूचना नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले दिएका थिए ।

उनले फेसबुकमा स्टाट्स लेख्दै भनेका छन्–‘पार्टीका दुई जना अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्