सत्तारुढ नेकपाभित्रको महामारीबाट प्रतिपक्षी कांग्रेस पनि संक्रमित



काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरुभएपछि सत्तारुढ नेकपाभित्रको महामारी प्रतिपक्ष नेपाली कांग्रेसमा सरेको छ । पहिलेदेखि खटपट र ठोकाठोक चलिरहेको कांग्रेसभित्रको गुटगत लडाइँ अहिले आएर संगठित रुपमा देखा पर्न थालेको छ ।

पौडेल पक्षको बैठकमा वर्तमान पदाधिकारी, केन्द्रीय सदस्य र पूर्व पदाधिकारीसमेत सहभागी रहेको बताइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभागहरुमा पदाधिकारी तथा सदस्य मनोनयनको प्रक्रिया तीव्र बनाएपछि पौडेल समूहले त्यसको लगातार विरोध गर्दै आएको छ ।

पछिल्लो समयमा राप्रपा नेता सुनील थापाको प्रवेशसँगै देउवासँग झस्कन पुगेका पौडेल पक्ष अब ‘मरता क्या नही करता’ को अवस्थामा पुगेको देखिएको छ ।

एकातिर विभिन्न पार्टीहरुबाट मानिस प्रवेश गराउने र अर्कोतिर नेपाली कांग्रेसका पुराना नेता तथा कार्यकर्तालाई निस्कासन गर्ने गर्न थालेपछि कोइराला समूह पनि पर्खेर हेरी सजाय दिने पक्षमा रहेका छन् । नेता शेखर कोराला स्वयम्ले ‘देउवाजीले यस कार्यको फल आइरहेको १४ औं महाधिवेशनमा भोग्नुहुने’ बताएका छन् ।

त्यसै गरी अर्का नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेता-कार्यकर्तालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापतिको सोच र कदम दुवै उचित नभएको बताउँदै आएका छन् । हालै मात्र कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई पार्टीबाट निस्कासित गरेको छ ।

यी सबै काम आउँदो महाधिवेशनलाई प्रभावित पार्नका लागि सभापतिले गरिरहेको यी नेताहरुको आरोप छ । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी प्रवेशको ढोका खुल्ला गराएर बाहिरकालाई सिढि चढाउँदै गर्ने र पार्टीमा जीवन विताएकालाई निस्कासन गर्दै गर्ने कुराले महाधिवेशन प्रभावित गर्न लागेको देखिएको यी नेताहरुको आरोप छ ।

देउवासँग असन्तुष्ट रहेका नेताहरु देउवाको यो क्रियाकलाप पार्टी विधानविपरीत हुनुका साथै प्रजातन्त्रको खिलापमा रहेको जिकिर गरिरहेका छन् ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्