पहेलो धातु प्रहरीको हातमा, सुन अन्यत्रबाटै पास



काठमाडौं : दरवारमार्गको सुनकाण्डबारे बयान फेरिएको फेरियै छ । पहिले १४ किलो भनिएको सुन पछि आएर १ किलोमा झर्यो । बाँकी १३ किलो सुन जलप लगाइएको चाँदीमा परिणत भयो । केही समयपछि त्यही १ किलो सुन पनि आधा किलो सुन र आधा किलो चाँदीमा परिणत भयो ।

रमाइलो कुरा त के भने सुनफेला परेको स्थान दरवारमार्ग भनी बताइरहँदा पछि आएर त्यो सुनधारामा भएको भनियो । कसरी फेला पर्यो त भन्ने कुराको बयान पनि फेरिएको फेरियै छ । सुरुमा प्रहरीलाई चेकिङमा देखेर आउँदै गरेको स्कोर्पियो गाडीबाट दरवार मार्गमा सुन राखेको झोला प्रहरीतिर फ्याँकेर गाडी दौडाएको भनियो ।

तर, पछि भिडियो फुटेज हेर्दा सुनधारामा प्रहरी जवानलाई नै सुन राखेको झोला सहजै हात पारी गाडीमा फर्किएको देखिएको कुरा सार्वजनिक गरियो । यी र यस्ता विवादास्पद बयानहरु आइरहँदा छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुको सट्टा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा गरिसकिएको छ ।

सुन राखेको झोला हात पारिएको भनिएका प्रहरी जवान बहादुरसिंह कडायतले दिएको बयान भूलभूलैया खालको छ । उनले कसले ल्याउँदैछ, कुन रुटबाट र कुन गाडीमा भन्ने कसरी थाह पाए । फेरि उनको हातैमा सुनको झोला किन थमाइयो ।

सामान्य रुपमा अनुमान पनि लगाउन सकिन्छ कि यो सबै काम ‘फल्स’ वा नक्कली थियो । बरु ‘रियल’ वा वास्तविक सुन अर्को गाडीबाट कतै पठाइएको थियो । शायद गाडीबाट धेरै मात्रामा सुन अवैध रुपमा त्यही घटना हुँदाका बखत काठमाडौंमा भित्रिएको हुन सक्छ ।

हल्लाखल्ला र चर्को स्वर मच्चाएर मानिस तथा अन्य निकायको यतैतिर ध्यानाकर्षण गर्ने र अर्कोतिर अवैध काम फत्ते गर्ने चाल रहेको देखिन्छ । यसमा प्रहरीको केही ग्रुप तस्करहरुसँग समन्वय गरिरहेको तर यसको ठीक उल्टो प्रहरीप्रहरी बीचमै समन्वय नभइरहेको प्रष्ट खुल्न आउँछ ।

प्रकाशित : साउन १७, २०७७

प्रतिक्रिया दिनुहोस्