जलेश्वरमा आजदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा



जनकपुरधाम : महोत्तरीकोे जलेश्वर नगरपालिकामा आज (शुक्रबार) देखि ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा आज राती ११ बजेदेखि लागू हुनेछ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले नगरपालिका क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिएको बताए । उनले तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने समेत जानकारी दिए ।

प्रजिअ कटुवालले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरी प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरु शुक्रबार राती ११ बजेदेखि आगामी ५ दिनसम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जलेश्वर नगरपालिकाको पूर्वमा भार्गेश्वर, पश्चिममा राविम क्याम्पस, उत्तरमा प्रकौली चौक र दक्षिणमा धबौलीको रातो पुलसम्मको चार किल्ला भित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिए । त्यस्तै महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ र ५ मा समेत अनावश्यक आवतजावत र हिंडडुल नगर्न÷नगराउन आदेश दिइएको छ ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपंक्षीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिकाको कार्यालय समेत बिहीबारदेखि नै बन्द गरिएको छ ।

महोत्तरीमा अहिलेसम्म ८ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु समेत भइसकेको छ । त्यस जिल्लाका ३ सय ४४ जना व्यक्तिहरु उपचार पश्चात निको भएर आआफ्नो घर फर्किसकेका छन् ।

त्यस जिल्लामा अहिलेपनि ५ सय ७४ बेड क्षमताको १४ वटा क्वारेन्टाइनमा १ सय ६३ जना छन् भने १ सय ९७ जना होम क्वारेन्टाइनमा छन् । त्यस्तै १ सय ८५ बेड क्षमताको आइसोलेसनमा ३२ जना भर्ना रहेका छन् ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्