अाज रातभर उल्का वर्षा हुने, किन हुन्छ यस्तो ?



काठमाडौं : हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आइतवार राति १०:४५ बजेदेखि सोमबार बिहान ५:४५ बजेसम्म देखिने भएको छ । 

 

उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्का वर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमवार बिहान ३:४५ बजेपछिको समय उत्तम हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

 

 अत्यधिक उल्का वर्षाको बेला प्रतिघण्टा २० सम्म उल्का देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । ती उल्का वर्षाको गति प्रतिसेकेण्ड ६७ किमीसम्म हुने भएकाले करीब ७० किमीमाथिको वायुमण्डलमा घर्षण पैदा भएको दृश्य देखिन्छ । 

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छाड्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको नजिक पुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्छन् । यसैलाई उल्का वर्षा र उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ । 

 

बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी सिद्धान्तका माध्यमले सौर्यमण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात यो पुच्छ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलीको पुच्छ्रेतारा’ भनिएको हो । यसले ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ ।

 

सन् १९८६ मा देखिएको यो पुच्छ्रेतारा अब सन् २०६१ मा देखिने सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्