देशभरको मौसम दिनभर कस्तो रहला ?



काठमाडौँ : देशभर मनसुनी वायु र पूर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित रहँदा केही दिनदेखिको वर्षा अझै रोकिएको छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले पनि देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशसहितका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागले तीन दिनको पूर्वानुमान गर्दै जारी गरेको बुलेटिनमा सोमबारसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । आजै दिउँसो र राति प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यो क्रम सोमबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता रहन विभागले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्