नेकपाको सचिवालय बैठक बालुवाटारमा शुरु



 काठमाडौं : पटक-पटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

 

बिहान ११ बजेका लागि निर्धारित बैठक अपरान्ह शुरु भएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

 

बैठकमा नेकपा नेता बामदेव गौतमलाई उम्मेदवार बनाउन भनेर काठमाडौं-७ का सांसद रामवीर मानन्धरले पार्टीमा बुझाएको राजीनामाको विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । यद्यपि वामदेवले काठमाडौं ७ मा चुनाव नलड्ने घोषणा गरिसकेकाले रामवीरको राजीनामा स्वीकृत नहुने र यो प्रकरणको च्याप्टर क्लोज गरिने स्रोतले बतायो ।

 

आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गरेको असहमति, सरकारको समीक्षा, पार्टी एकीकरणको कार्यान्वयन लगायतका विषयमा छलफल हुने भएको छ ।

 

सचिवालय बैठक आइतबार र सोमबार चल्नेछ । नेकपाको स्थायी कमिटी बैठक कात्तिक १२ र १३ गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्