स्वास्थ्य मन्त्रालयका प्रवक्ताले किन ‘ठूलो जनस्वास्थ्य दुर्घटना’को जोखिम देखे



काठमाडाैँ‌ : नेपाल सरकारका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले सरकारी अनुरोध र मापदण्डको पालनाहरू थुप्रैतिरबाट नहुनुलाई ‘दु:खद्’ भन्दै त्यसले देशको जनस्वास्थ्यमा ठूलो दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

शुक्रवारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “सिराहामा आमसभा भएको छ, दुई तिन दिनयता काठमाडाैँ‌मा साना साना सभाहरू भइरहेका छन्। यी सभाहरू हाम्रा लागि दु:खद् छन्।”

उनले काठमाडाैँ‌मा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको पक्षलाई समेत चिन्ताको रूपमा औँल्याए।

देशभर झण्डै २० हजार नजिक सङ्क्रमितको सङ्ख्या पुग्दा राजधानीमा उक्त सङ्ख्या पाँच सय नाघेको छ।

स्वास्थ्य प्रवक्ताले थप के भने ?

स्वास्थ्य निगरानीमा बस्नुपर्ने विषयमा सरकारबाट दिनहुँ अनुरोध गरिरहेको भए पनि त्यसको पालना नभइरहेको उनको भनाइ थियो।

उनले भने, “यसले हाम्रो जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने कुरा म जानकारी गराउन चाहन्छु।”

उनले थुप्रैतिर सीमा नाकामा पनि नियन्त्रण नभइरहेको बताए।

जागेश्वर गौतम

जसको अवस्था झल्काउने एउटा उदहारण दिँदै प्रवक्ता गौतमले हालसालै भारतबाट २१ जना कामदारहरूलाई ओखलढुङ्गा पुर्‍याइएकोमा तिमध्ये १८ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको बताए।

उनले यस्ता घटनाहरू देशभरबाट प्राप्त भइरहेको भन्दै त्यसले चिन्तित बनाएको बताएका थिए।

शुक्रवारसम्म भारतमा १६ लाख सङ्क्रमित पुगिसकेका छन्। र नेपालसँग जोडिएका त्यहाँका पाँचमध्ये चारवटा राज्य उत्तराञ्चल, उत्तर प्रदेश, विहार र पश्चिम बङ्गालमा सङ्क्रमण उच्च रहेको बताइएको छ।

चेतावनी

डा. गौतमले यदि जनस्वास्थ्यका मापदण्डहरू पालना गरिएनन् भने काठमाडाैँ‌ सहित देशभर बढिरहेका कोभिड-१९ का बिरामीहरूले अस्पतालमा शैय्या वा सघन उपचार कक्षहरू (आइसीयू) नपाउन सक्ने चेतावनी समेत दिएका छन्।

यसबीचमा मास्कको प्रयोग नगर्ने दुई लाखजनालाई कारबाही गरिएको उनको भनाइ छ।

तर जिम्मेवार पदमा रहेकाहरूले नै सार्वजनिक स्थलमा मास्कको प्रयोग नगर्नेगरेको भन्दै उनीहरूको आलोचना हुने गरेको छ।

शनिवारको कान्तिपुर दैनिकको प्रमुख समाचारमा त्यस्तो मापदण्ड उलंघन गर्ने प्रधानमन्त्री, मन्त्रीहरू, वरिष्ठ कर्मचारीहरू, सुरक्षा अधिकारीहरू सहितको तस्बिरहरू प्रकाशित गर्दै उनीहरूलाई भने कारबाहीको दायरामा नल्याइएको लेखेको छ।

कोरोनाभाइरस

प्रवक्ता डा गौतमका अनुसार समूहमा बस्नेहरूमा यतिखेर कोभिड-१९ को सङ्क्रमण बढिरहेको पाइएको छ।

“यसको उदहारण चाहिँ प्रहरी र स्वास्थ्यकर्मी सहित धेरै जनसम्पर्क हुनेमा कोरोनाभाइरस पोजिटिभ देखिनु रहेको छ।”

वीरगञ्जमा २८ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको बताउँदै उनीहरूले समेत जनस्वास्थ्यको मापदण्ड पालना नगरेको थाहा भएको उनले बताएका छन्।

उनले सम्पूर्ण स्वास्थ्यकर्मीलाई मास्क, पञ्जा र एप्रोन नभइकन बिरामी नहेर्न समेत आग्रह गरे।

नेपालको पछिल्लो अवस्था के छ?

नेपालमा शुक्रवार साँझसम्म पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको सरकारी विवरण छ।

रोगमुक्त भएकाहरूको विवरण अहिलेसम्म १४,३९९ छ।

शुक्रवार एकैदिन चार जनाको कोभिड-१९ जोडिएको मृत्यु पृष्टि गरिएसँगै नेपालमा अहिलेसम्म यसबाट ज्यान गुमाउनेको सङ्ख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रवार मन्त्रालयले एकैदिन अहिलेसम्मकै उच्च १०,७६८ पीसीआर परीक्षण भएको जनाएको थियो।

नेपालमा अहिलेसम्म कुल ३,७५,४१६ जनामा पीसीआर परिक्षण गरिएको छ। वीवीसीबाट

प्रतिक्रिया दिनुहोस्