भारतमा कोरोनाका कारण २५ नेपालीको मृत्यु, साउथ अफ्रिकामा पहिलो घटना



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण भारतमा यो साता २५ जना नेपाली नागरिकले ज्यान गुमाएका छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण भारतमा तीव्र गतिमा फैलिरहेको संक्रमणका कारण त्यहाँ बसोबास गर्ने नेपाली पनि प्रभावित भएको र उनीहरुको मृत्यु दर पनि बढिरहेको गैरआवासीय नेपाली संघ अन्तर्गत स्वास्थ्य समितिले जनाएको छ ।

समितिका संयोजक डा. संजीव सापकोटाले भने–‘अल इन्डिया इष्टिच्युट अफ मेडिकल साइन्स नयाँ डिल्लीमा कार्यरत डा. सागर पौडेलले दिएको जानकारी अनुसार भारतमा विभिन्न मितिमा ज्यान गुमाएका नेपालीको संख्या थप २५ पुगेको पुष्टि यो साता भएको हो । भारतको महाराष्ट्रमा रहेका नेपालीहरु बढी प्रभावित छन् ।’

यस्तै यही साता साउथ अफ्रिकामा पहिलो पटक एक नेपाली नागरिकले ज्यान गुमाएका छन् भने साउदी अरबमा २ जनाले कोरोनाकौ कारण ज्यान गुमाएका छन् ।

योसँगै विदेशमा संक्रमणका कारण मात्रै १ सय ८९ जना नेपालीले ज्यान गुमाइसकेका छन् । शनिवार साँझसम्म नेपालका ५६ सहित विश्वभर २ सय ४५ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्