विवाद समाधानका लागि ओली-प्रचण्डबीच बालुवाटारमा छलफल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान ९ः५५ बजेदेखि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेताबीच छलफल शुरु भएको नेकपा स्रोतले जनाएको छ ।

दुई अध्यक्षको भेटमा आज वरिष्ठ नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको स्रोतको भनाई छ ।

गएको मंगलबार तय भएको स्थायी कमिटीको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेका थिए । त्यस यता दुई अध्यक्षबीच सम्वाद भएको थिएन ।

ओली र प्रचण्डबीच सम्वाद गराउन बिहीबारदेखी महसचिव विष्णु पौडेल र शंकर पोखरेल सक्रिय थिए । शनिबार साँझ पनि ओलीको सन्देश लिएर पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद तीव्र बनेको छ ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्