चितवनमा भएकाे दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते



चितवनः चितवनमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा परि तीन जनाले ज्यान गुमाएका छन्। मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नम्बरको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट मंगलबार बिहान त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

दुर्घटनामा परी अन्य चार घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । घाइते हुनेमा दुई महिला छन्। प्रहरीका अनुसार मृतकको परिचय खुल्न सकेकाे छैन। ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ।

यस्तै चितवनको भरतपुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। गए राति १ बजे भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९१प ३४८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई केन्द्रीय बस टर्मिनल चोकको डिभाइडरमा ठक्कर खाँदा मोटरसाइकल पछाडि सवार खैरहनी नगरपालिका–१३ का ३४ वर्षीय कुमार अधिकारीको मृत्यु भएको हो।

अधिकारीको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते मोटरसाइकल चालक धादिङ कयपुर–५ का ३८ वर्षीय सोमनाथ सेढाइँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्