मूर्ति बिसर्जनमा विवाद हुँदा कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू



कपिलवस्तु : जिल्लाकै प्रमुख व्यापारिक केन्द्र कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत कार्तिक २ गते कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति बिर्सजनका क्रममा भएको विवादपछि तनावग्रस्त बनेको कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेका हो। अर्को आदेश नआउन्जेलसम्म कर्फ्यू जारी रहने स्थानीय प्रशासनले जनाएको छ। 

 

कृष्णनगरमा गत कार्तिक २ गते साँझ मूर्ति बिर्सजनका क्रममा भएको विवादले अग्ररूप लिएपछि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए। 

 

आइतबार दिउँसो जिल्ला सुरक्षा समितिको बसेको बैठकले सो निर्णय गरेको प्रजिअ पोखरेलले जानकारी दिए। तीन दिनदेखि स्थानीय अगुवा र विभिन्न पक्षसँग पटकपटक छलफल गर्दा पनि स्थिति नियन्त्रणमा नआएको उनको भनाइ छ। 

 

पूर्वमा सेमरा, पश्चिममा झण्डेनगर र उत्तरमा बडेया पोखरी र दक्षिणमा दशगजा चौकिल्ला कायम गरी कर्फ्यू लगाइएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। कृष्णनगर बजारमा समूह बनाएर हिडडुल गर्ने, जम्मा हुने, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रजिअ पोखेरलले बताए।

 

प्रतिक्रिया दिनुहोस्