लगानी बोर्डको सीईओमा भट्ट नियुक्त



काठमाडौँ : राष्ट्रिय योजना आयोगको सदस्य सुशील भट्टलाई सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई चार वर्षे कार्यकालका लागि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

बोर्डको प्रमुख कार्यकारी अधिकृतमा यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी थिए । कार्यकाल सकिनुअघि नै गत चैतमा अधिकारी गभर्नर नियुक्त भएपछि बोर्डमा सीईओ पद रिक्त थियो ।

लगानी बोर्डको सीईओ सिफारिस गर्न गठित अर्थमन्त्री डा.युवराज खतिवडा संयोजकत्वको समितिले भट्ट, डा.सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको ती मन्त्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्