कैलालीमा थप एक पीसीआर मेसिन जडान



धनगढीः कोरोना परीक्षणका लागि धनगढीमा थप एउटा प्रयोगशाला स्थापनाको काम अन्तिम चरणमा पुगेको छ ।

सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालय कैलालीमा पीसीआर प्रयोगशला स्थापना गरिएको हो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले प्रयोगशालामा पीसीआर मेसिन सहितका उपकरण जडानको काम भैरहेको बताए ।

प्रयोगशालामा उपकरण जडानको काम सकिएको बताउँदै आगामी बिहीवारदेखि परीक्षण शुरू हुने सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताएका छन् । उनका अनुसार मेसिनको भ्यालिडेसन भइरहेकोले पर्सिदेखी सञ्चालन हुनेछ ।

प्रदेश मन्त्रिपरिषदको निर्णय अनुसार धनगढीमा थप प्रयोगशाला स्थापना भएको हो । १५ चैतमा बसेको मन्त्रीपरिषदको बैठकले धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । डोटी र बैतडीमासमेत प्रयोगशाला स्थापनाको काम भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।

उनले डडेल्धुरा र धनगढीमा एउटा एउटा प्रयोगशाला मार्फत कोरोना परीक्षण भइरहेको जानकारी दिए । अहिले संचालित डडेल्धुराको प्रयोगशाला जनस्तरबाट रकम संकलन गरेर स्थापना गरिएको हो भने धनगढीको प्रयोगशाला संघीय सरकारले स्थापना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्