२१ दिने कर्फ्युसहितको लकडाउन गर्न सुझाव



काठमाडौंः जनस्वास्थ्य विज्ञहरुले कोरोना भाइरस संक्रमितहरुको संख्या वृद्धि हुँदै गएकाले कर्फ्युसहितको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

कोरोना संक्रमण रोकथामबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको बैठकमा विज्ञहरुले लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

विज्ञहरुले अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए । पछिल्लो एक महिनामा सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गरिएको हो ।

सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ । छलफलमा पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, अर्थ र स्वास्थ्यमन्त्री सहभागी भएका थिए । सभापति देउवाले पीसीआर परीक्षण तीब्र बनाउन, आइसोलेसन र भेन्टिलेटरको प्रबन्ध गर्न ध्यानाकर्षण गराए ।

प्रधानमन्त्रीले विभिन्न खाले सुझावहरूको अध्ययन गरी सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडी बढ्ने तथा सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरि छाड्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्