आज नेपालमा ५ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा २-२ र काठमाडौंमा १ जना संक्रमितको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ । वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा १८ वर्षीय एक युवतीको मृत्यु भएको थियो । नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.मदन उपाध्यायका अनुसार ती युवतीको मंगलबार राति मृत्यु भएको हो ।

उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ आएको हो । पर्साको पोखरिया नगरपालिका ९ की ती युवतीलाई सोमबार पटक-पटक बान्ता हुने समस्या देखिएपछि नेशनल मेडिकल कजेलमा लगिएको थियो तर उनको अस्पताल नपुग्दै मृत्यु भएको बताइएको छ ।

यस्तै, वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको छ । ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंगलबार राति ९ बजे अस्पताल भर्ना गरिएको थियो । उनी वीरगञ्ज १५ का हुन् ।
उनको साउन १८ गते नमूना संकलन गरिएको थियो । १९ गते उनको कोरोना पोजेटिभ आएको थियो । डा.उपाध्यायका अनुसार ती व्यक्ति मधुमेहका बिरामी थिए । बुधबार नै विराटनगरमा २ जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ ।

विराटनगर ९ का ४५ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मंगलबार साढे १० बजे अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए । उनका अनुसार अस्पतालमा आउँदा उनको फोक्सोमा पानी जमेको थियो । उनी कलेजो र मिर्गौलाका रोगीसमेत रहेको अस्पतालले जानकारी दिएको छ ।
उपचारको क्रममा उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको हो । मोरङ ८ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिए पनि अस्पताल ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको डा.दासले जानकारी दिए । मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनको कोरोना पोजेटि आएको अस्पतालले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । बलम्बुस्थित नेपाल प्रहरी अस्पताल ( एपीएफ ) मा उपचाररत ६५ वर्षीय महिलाको मृत्यु भएको हो । सर्लाहीको मलगंवा स्थायी ठेगाना भएकी उनी काठमाडौंको सितापाइलामा बस्दै आएकी थिइन् । ज्वरो आएपछि उनले सर्लाहीकै एक अस्पतालमा भर्ना उपचार गराएकी थिइन् । समस्या बढ्दै गएपछि स्वम्भुस्थित मनमोहन अस्पतालमा १६ गते भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको एपीएफ अस्पतालका डा.प्रवीन नेपालले बताए ।

उनको १८ गते कोरोना पोजेटिभ आएपछि १९ गते एपीएफ अस्पतालमा सारिएको उनले जानकारी दिए । एपीएफ अस्पतालमा पनि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । डा. नेपालका अनुसार ती महिलालाई निमोनिया भएको थियो । उनी रक्तचाप र बाथरोगका बिरामी भएको अस्पतालले जनाएको छ । उनलाई स्क्रब टाइफस मेत भएको उनले जानकारी दिए ।

प्रकाशित: साउन २१, २०७७

प्रतिक्रिया दिनुहोस्