काठमाडौं उपत्यकामा एकै दिन १०२ जनामा कोरोना संक्रमण



काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार थपिएका १०२ संक्रमित मध्ये अधिकांश उपत्यका बाहिरबाट आएका हुन् ।

उपत्यकामा संक्रमितको संख्या बढ्दै जाँदा व्यवस्थापनमा समस्या हुन थालेको छ । इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाका (ईडीसीडी)का निर्देशक डा. वासुदेव पाण्डेले संक्रमित थपिएसँगै व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

ईडीसीडीका निर्देशक डा. पाण्डेले भने–‘अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिएका छौं ।’ ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये २० जनालाई घरमै आइसोलेसनमा राखिएको छ । मंगलबार पुष्टि भएका ६९ जनामध्ये १५ जनालाई पनि घरमै आइसोलेसनमा राखिएको थियो ।

कोइरालाका अनुसार बुधबार संक्रमण पुष्टि भएका मध्ये ५६ जनालाई मात्रै दुवाकोटको केएमसी, प्रहरी अस्पताल र कीर्तिपुरको आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ । संक्रमितमध्ये ३६ जनाको ट्राभल हिस्ट्री (टाढा आउजाउ) छ । ३२ जनालाई कोरोनाको लक्षणसमेत देखिएको छ । साथै उनले संक्रमित केही गाउँ फर्किसकेछन् भने १६ जना सम्पर्कबाहिर छन् ।

केहीको मोबाइल नम्बर गलत, केहीको मोबाइल स्विच अफ र अन्यको फोन नम्बर नहुँदा खोजी गर्न नसकिएको ईडीसीडीले जनाएको छ । पैसा तिरेर स्वाब दिएका संक्रमितहरूले आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर नै गलत राख्दा संक्रमितको पहिचान गर्न गाह्रो हुने गरेको छ । उनीहरू घरमै आइसोलेसनमा छन् कि खुलेयाम हिँडिरहेका छन् भनेर निगरानी हुन सकेको छैन । सम्पर्कबाहिर भएकालाई प्रहरीमार्फत भए पनि खोज्ने कोइरालाले बताए । पीसीआर विधिबाट कोरोना परीक्षण गर्न सुरुमा स्वाब दिनुपर्छ । त्यति बेला स्थायी र अस्थायी ठेगाना, मोबाइल नम्बर ल्याबले उपलब्ध गराएको फाराममा लेख्नुपर्छ ।

प्रकाशित : साउन २२, २०७७

प्रतिक्रिया दिनुहोस्