झापुटार–चालिसे सडक अवरुद्ध



दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार हुँदै वडा नं ६ सम्म पुग्ने झापुटार–चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ । गत असार २९ गते र त्यसपछि परेको वर्षापछि आएको पहिराेले उक्त सडक अवरुद्ध भएको हो ।

पहिराले विभिन्न पाँच ठाउँमा ठूला–ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ–४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए । ”झापुटारभन्दा थोरै माथि पक्की रहेको बाटो नजिकबाट पाँच वटा ठूला ठूला पहिरा झरेका छन्”, उनले भने, “कतिपय ठाउँमा त बाटोको निशाना नै नरहने गरी पहिरा झरेर समस्या भएको छ ।”

उनका अनुसार अधिकांश ठाउँको पहिरा हटाइसकिएको र अब एक ठाउँको मात्रै पहिरा हटाउन बाँकी छ । “झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिए पनि ठाउँ–ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो पुनःसञ्चालन गर्न समय लागेको हो”, उनले भने । ऋषिङ–२ डाँडाखुँदीको उकालोको पहिरा हटाएर एक÷दुई दिनमा नै चालिसेसम्मको बाटो सफा गरिने अध्यक्ष रानाभाटले जानकारी दिए ।

तीन सातादेखि पहिराले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ तर पैदल हिँड्नका लागि भने कुनै समस्या छैन । “पैदल हिँड्नका लागि छोटो दूरीको बाटो छ, सवारी साधनमा जाने सर्वसाधारणलाई भने बाटो बन्द भएका कारण समस्या भएको छ”, उनले भने ।

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

घरको पिढीमा बसिरहेको बेला चितुवाको आक्रमणमा परेर बालकको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । मृत्यु भएका बालकको शव घरभन्दा केही पर भेटिएको थियो । जिल्लामा पछिल्लो समय बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन् । गत असार १७ गते राति आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा चितुवाको आक्रमणबाट १० वर्षीया अमिषा थापा घाइते भएकी थिइन् । विसं २०७४ फागुन यता चितुवाको आक्रमणबाट दश बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

अभियुक्तलाई जन्मकैद

जबर्जस्ती करणी मुद्दामा जिल्ला कारागारको थुनामा रहेका एक अभियुक्तलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले भीमाद नगरपालिका–९ का शङ्कर परियारलाई जन्मकैदको फैसला सुनाएको हो ।

साथै पीडितलाई क्षतिपूर्तिबापत रु ५० हजार पीडकबाट दिलाउने फैसला भएको अदालतका निमित्त श्रेस्तेदार जीवन पौडेलले जानकारी दिए । पूर्ण अपाङ्ग महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा विसं २०७६ मङ्सिर २ गते परियारविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

यसैगरी न्यायाधीश पौडेलको इजलासले जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका घिरिङ गाउँपालिका–५ का प्रेमबहादुर रानालाई कसुर ठहर गरी सजाय निर्धारणको लागि पेश गर्न आदेश दिएको छ । सजाय निर्धारणको लागि यही साउन २९ गते पेशी तोकिएको अदालतले जनाएको छ । घिरिङ –५ स्थित एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा राना पक्राउ परेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्