भोलीदेखि गौशाला नगरपालिकासमेत एक हप्ताका लागि लकडाउन



जनकपुरधामः नेपालमा समेत दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदै गएपछि महोत्तरीको गौशाला नगरपालिकाले एक हप्ताको लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

शनिवार नगरपालिकाको कार्यालयमा भएको सर्वपक्षिय बैठकमा आईतवार राती ११ बजेदेखि साउन ३१ गते शनिवार ११ बजेरातीसम्म लागु हुने गरि लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।

नगरप्रमुख महतोको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा समुदायस्तरमा कोरोना संक्रमण फैलिने जोखिम बढेपछि अति आवश्यक सेवाहरु बाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था तथा सवारी साधनहरु बन्द गर्ने निर्णय गरिएको छ ।

लकडाउन अवधीभित्र बाहिरी आवतजावतको चक्र बन्द गरेर समुदायमा संक्रमणको अवस्था बुझ्न गौशाला उद्योग वाणिज्य संघको समन्वयमा पीसीआर परीक्षण गरिने नगर प्रमुख महतोले बताए ।

महोत्तरीको जलेश्वर नगरपालिका, भंगहा नगरपालिका र महोत्तरी गाउँपालिकाले समेत निषेधाज्ञा लगाईसकेको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्