सडक निर्माण गर्न दार्चुला पुग्यो सेनाको टोली



दार्चुलाः दार्चुलाको तिंकर सडक निर्माणका लागि नेपाली सेनाको टोली पुगेको छ ।

चालु आर्थिक वर्षबाट दार्चुला–तिंकर सडकको निर्माण कार्य गर्ने जिम्मेवारी पाएसंगै नयाँ आर्थिक वर्षको पहिलो महिनामै सेनाको टोली निर्माण सामग्रीसहित जिल्ला दार्चुला पुगेको हो ।

नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ जना नेपाली सेनाको टोली जिल्ला आइपुगेको दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति सेनानी बिक्रमदेव थापाले बताए । नेपाली सेनाका ८ गाडीमा निर्माण सामग्री सहित सेनाको टोली सदरमुकाम खलंगा पुगेको छ ।

नेपाली सेनाका महासेनानी गुरुङ आफैले स्थलगत रुपमा अवलोकन निरीक्षण गर्ने कार्यक्रमसमेत रहेको उनले बताए । उनका अनुसार सडक निर्माण गर्नुपर्ने क्षेत्रको स्थलगत अबलोकन गरेर सोही अनुसार बन्दोबस्ती र व्यवस्थापन गरिने छ ।

नेपाली सेनाको टोली केही दिन जिल्ला सदरमुकाम खलंगामै बस्ने र आबश्यक निर्माण सामग्रीहरु ढुवानी पश्चात् निर्माण स्थलमा खटिने सेनानी थापाको भनाई छ । ‘अहिले निर्माण सामग्रीको बन्दोबस्ती हुदैछ, निर्माण सामग्रीको व्यवस्थापन र ढुवानी पश्चात् निर्माण स्थलमा टोली मुभ हुन्छ’ सेनानी थापाले भने । सेनाको टोलीले सडक निर्माणको कार्य करिब भाद्र महिनाबाट थाल्ने सेनानी थापाको संकेत छ ।

गत बैशाख १४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ब्याँस गाउँपालिका वडा नम्बर २ घाँटिबगरदेखि तिंकरसम्म ८७ किलोमिटर सडक निर्माणका जिम्मा दिने निर्णय गरेको थियो । २०६५–६६ बाट निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माणको कार्य हालसम्म ४० किलोमिटर ट्याक खोलिएको छ ।

आर्थिक वर्ष २०७७-०७८ बाट नेपाली सेनालाई दार्चुला–तिंकर सडक निर्माणको जिम्मेवारी दिएकाले नेपाली सेनाको टोली त्यहाँ पुगेको हो । घाँटिबगर क्षेत्रमा नेपाली सेनाको टोलीले ४ सय ५० मिटर गोरेटो बाटोसमेत निर्माण गरिरहेको छ ।

गोरेटो बाटो निर्माणको कार्य करिब आधा भइसकेको जनाएको छ । तल्लो क्षेत्रमा गोरेटो निर्माण भैरहेको छ भने माथिल्लो क्षेत्रमा सडक निर्माण थाल्ने तयारी भैरहेको छ ।

प्रकाशितः साउन २४, २०७७

प्रतिक्रिया दिनुहोस्