खुकुरी प्रहार गरी श्रीमतीको हत्या



सर्लाही : श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा एक जना पक्राउ परेका छन्।

बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० बर्से रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ। बिहीबार राति साँढे १० बजे रामजीले सुनीताको घाँटी, हात, खुट्टालगायत शरीरका विभिन्न भाग खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ।

सुनीताको घटनास्थलमै ज्यान गएको थियो। रामजीले सुतिरहेकी श्रीमतीमाथि खुकरी प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ। बरहथवास्थित अमर सुनचाँदी पसलमा कालिगढको रुपमा रामजी काम गर्दै आएका थिए।

पहिला श्रीमतीले आफूमाथि खुकुरी प्रहार गर्न खाजेपछि खोसेर आक्रमण गरेको रामजीले प्रहरीसमक्ष बयान दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

शिक्षिकाको रुपमा कार्यरत सुनीताले रामजीसँग दोस्रो बिहे गरेकी अनुसन्धानबाट थाहा भएको छ। उनको पहिलो श्रीमानपट्टिबाट १५ वर्षकी छोरी छ।  मृतकको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवा लगिएको छ। 

प्रतिक्रिया दिनुहोस्