म्याग्दीका महिला सहकारीबाट आत्मनिर्भर बन्दै



म्याग्दी : जिल्लाका अधिकांश महिलाहरू सहकारीमार्फत आत्मनिर्भर बन्दै गएका छन् । गाउँ गाउँमा खुलेका विभिन्न सहकारीबाट क्रृण लिएर उनीहरूले आयआर्जनका काम गर्न थालेका छन् ।

सहकारीले दिने रकमबाट विभिन्न साना व्यवसाय गरेर म्याग्दीका महिला सक्षम बन्दै गएका जनचेतना महिला सहकारी संस्थाका अध्यक्ष देवीकुमारी घिमिरेले बताइन् । महिलाहरूले विशेष गरी व्यावसायिक बाख्रा पालन, तरकारी खेती, किराना पसल तथा अन्य आयआर्जनमूलक व्यवसाय गरेको उनले जानकारी दिइन् । 

विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरूले गाउँगाउँमा पुगेर महिला स्वावलम्वन लक्षित कार्यक्रमहरू गर्न थालेपछि विगत पाँच वर्षको तुलनामा अहिले महिलाहरूको अवस्थामा निकै परिवर्तन आएको महारानी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिनाथ सापकोटाले बताए । 

जिल्लाका ज्यामरुककोट, रत्ने चौर, वावियाचौर, अर्मन, हिस्तान, राम्चे, सिख लगायतका गाउँमा सहकारी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा महिलाहरूले आयआर्जनका काम गरिरहेका छन् । 

सृजनशील महिला समूहमा आबद्ध रोहोटेकी निर्मला शर्माले सहकारीबाट लिएको रकमले गाउँमा तरकारी खेती र किराना पसल सञ्चालन गरेकी छिन् । अहिले तरकारी खेतीबाट मासिक रु ८ हजार र किराना पसलबाट मासिक रु १२ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताउने शर्माले ६ जनाको परिवार चलाउनुका साथै आफूले ल्याएको क्रृण तिरेर विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा बचत समेत गरेको बताइन् । 

त्यसै गरी अर्मनकी रेणु कँडेलले पनि स्थानीय महिला समूहबाट २२ हजार रुपैयाँ क्रृण लिएर ६ वर्षअघिदेखि बाख्रा र कुखुरापालनका साथै तरकारी खेती पनि गरेकी छिन् । व्यवसायबाट आफू आर्थिक रूपमा बलियो बन्दै गएको कँडेलले बताइन् । 

पहिला बिहान बेलुकाको गर्जो टार्न पनि मुस्किल पर्ने कँडेललाई अहिले भने जीवन सहज लाग्न थालेको छ । बाख्रा, कुखुरा र तरकारी बिक्री गरेर मासिक २० हजारको हाराहारीमा कमाइ गर्ने कँडेलले सोही रकमबाट गाउँमा जग्गासमेत जोडेकी छिन् । 

शर्मा र कँडेल त उदाहरण मात्रै हुन् । अहिले जिल्लामा सहकारी र विभिन्न संस्थाहरूको सहयोगका कारण गाउँका महिलाहरू आत्मनिर्भर बन्दै गएका प्रशस्त उदाहरणहरू देख्न सकिने जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले बताए । 

अध्यक्ष कार्कीका अनुसार जिल्लामा २ सय १५ सहकारी संस्था छन् । यी सहकारी संस्थाहरूबाट व्यवसाय र उद्यमका लागि क्रृण लिने र समयमा नै चुक्ता गर्नेमा महिलाहरू नै अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्