भारतीय विदेश मन्त्रालयले भन्यो- बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन



काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सञ्‍चारकर्मीको प्रश्‍नको जवाफ दिँदै गौतम बुद्ध नेपालमै जन्मिएका हुन् भन्‍नेबारे कुनै शंका नभएको बताएका छन् ।

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार एक भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै गौतम बुद्ध महान भारतीय भनेर चिन्‍ने गरेको बताएका थिए । उनले भनेका थिए, “गौतम बुद्ध र महात्मा गान्धीलाई हामीले मात्र होइन विश्वले नै महान भारतीयका रुपमा चिन्छ ।”

यस विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नै गौतम बुद्धको जन्मस्थानबारेको बहस आवश्यक नभएको र यसबारे अन्तर्राष्ट्रिय समुदाय जानकार भएको बताएको छ ।

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै गौतम बुद्ध नेपालमै जन्मिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्