हातमुख जोड्न डोको बुन्छन् म्याग्दी ठाडापानीका दृष्टिविहिन खिमप्रसा



म्याग्दी : दुःखीको घरमा मात्र तेरो वास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।।

स्वर्गीय बालकृष्ण समको कविताको यो हरफसँग ठ्याक्कै मेल खान्छ रघुगंगा गाउँपालिका–६ ठाडाखानीका दृष्टिविहिन खिमप्रसाद छन्त्यालको जीवन। जन्मदै दृष्टि नभएका छन्त्यालले सानै उमेरमा बुवाआमाको माया ममता र काख पनि गुमाए। बुवाआमा दुवै बितेपछि कामको खोजीमा भारत पसेका दाजु पनि उतै बेपत्ता भए। 

एउटी बहिनी थिइन् तर उनी पनि दाजु जस्तै दृष्टिविहिन। दिदीले गाउँकै एक युवकसँग बिहे गरेपछि बाँकी रहे दुई दृष्टिविहीन दाजु बहिनी मात्र। समय आफ्नो गतिमा हिँडि रह्यो। कति शिशिर आए गए। सेकेन्ड, मिनेट, घण्टा, दिन, साता, महिना, वर्ष बिते। तर खिमप्रसादको जीवनमा कहिल्यै घाम लागेन। 

खुसी कस्तो हुन्छ करिब ५५ वर्षका खिमप्रसादले कहिल्यै अनुभव गर्न पाएनन्। उनले जीवनयापनका लागि २० वर्षदेखि बाँसको चोया समाते र डोको बुन्न थाले। चोया बटार्दै र मिलाउँदै डोको बुन्ने गरेका उनले जीवन पनि चोयाजस्तै चिरिएको र भाटासँग मिसिएर बुनिएको भ्वाङ नै भ्वाङ परेको डोको जस्तै छ।

जिल्लाको विकट क्षेत्रमा पर्ने ठाडाखानीमा दृष्टिविहीन भएकाले गुजाराको आधार केही नभएपछि उनले जीवनलाई सधैंका लागि विश्राम दिने प्रयास पनि नगरेका होइनन् उनले। गाउँमै बिहे गरेकी दिदी, आफन्तको सहयोगमा बिहानबेलुकी छाक टार्ने गरेका उनले सधैं मागेर गुजारा चलाउनु नपरोस् भनेर आफ्नै मेहनतको कमाइबाट जीवन धान्न डोको बुन्न थालेका हुन्। 

आफन्तको सहयोगमा आवश्यक सामाग्री जुटाउँछन् र डोको बुन्छन् उनी। उनले बुनेको डोको स्थानीयले समेत खरिद गर्छन्। ‘घरमा एक्लै छन्, धेरै दुःख पाएका छन् उनले’, वडा सदस्य टेकजीत छन्त्यालले भने। 

टेकजीतका अनुसार घरमा सघाउने मान्छे नहुँदा दिदी, आफन्त र गाउँलेको सहयोगमा डोको बुन्नुपर्छ। ‘दुःखको अर्को नाम खिमप्रसाद हो भने हुन्छ’, उनले भने, ‘कतैबाट आर्थिक सहयोग भए उनलाई जीवन चलाउन निकै सहज हुने थियो।’

वडाबाट सामान्य सहयोग गर्न सकिने भए पनि गाउँमा विपन्न धेरै जना भएकाले आगामी बजेटमा आर्थिक सहयोगको प्रस्ताव गर्ने सदस्य टेकजीतले बताए। गाउँका विपन्नलाई खाद्यान्न, लत्ताकपडा र औषधि उपचारका लागि सहयोग आवश्यक रहेको उनको भनाइ छ।

सम्पत्तिको नाममा सानो घर, केही जग्गाजमिन रहे पनि दृष्टिविहीन भएकाले खेतिपाती र उपयोग गर्न तथा ज्याला मजदुरी गर्न सक्दैनन् खिमप्रसाद। ‘दुई हातले छामछुम गरेरै भए पनि सकेसम्म डोको बुन्छु, धेरै पीडा हुँदासमेत आँसु आउँदैन, अब त रुँदा पनि आँसु खस्दैन’, उनले भने।

बाँच्ने आधार नै डोको भएकाले नमरुन्जेल डोको बुन्ने उनको भनाइ छ। डोको बनाउन बाँसको चोया काट्दा धेरैपल्ट उनको हात हँसियाले रक्ताम्मे बनाएको छ। तर पनि त्यसको वास्ता नगरी डोको बुन्नुपर्ने उनको बाध्यता छ। उनले बुनेका डोका नै गाउँमा सबैभन्दा बढी खपत हुने गरेको छ।

म्याग्दीका ग्रामीण क्षेत्रमा न्यूनतम आवश्यकताबाट समेत वञ्चित भएका दृष्टिविहीनलाई स्थानीय तह, जनप्रतिनिधि र निकाय कसैले पनि सहयोग गर्ने गरेका छैनन्। दृष्टिविहीनले हातमुख जोड्न गिटी कुट्नेलगायत कठिन शारीरिक परिश्रम गर्दै आएका छन्। 

 

प्रतिक्रिया दिनुहोस्