ओली–प्रचण्डबीच ९ दिनपछि सम्वाद



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (बिहीबार) भेटवार्ता भएको छ ।

नौ दिनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान  ११ बजेदेखि  दुई अध्यक्षबीच भेटवार्ता भएका हो ।

दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।
अध्यक्ष प्रचण्ड स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ । दुवै पद नछाड्ने ओलीको अडान छ ।

प्रकाशित : साउन २९, २०७७

प्रतिक्रिया दिनुहोस्