सभामुख एउटा नेताको आदेश पालकको भूमिकामा देखिनुभयो : गगन थापा



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको मूल जिम्मेवारी सभामुख देवराज घिमिरेको भएको बताएका छन् ।

बिहीबार साँझ सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी उनले सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदन अवरुद्ध गरेका बेला जबरजस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको बताए ।

थापाले भने, ‘आज सदनभित्र जे अप्रिय स्थितिको सिर्जना भयो, यसको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ । किनकी सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर एक प्रकारको अप्रिय अनपेक्षित स्थिति सिर्जना गर्ने कामको मूल जिम्मेवारी सम्माननीय सभामुखले लिनुपर्छ ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार काँग्रेसको अवरोधका बाबजुद संसद् चल्छ भनेको र त्यसको भोलिपल्ट संसद्मा त्यही दृश्य देखिएको भन्दै थापाले सभामुख आदेश पालकको भूमिका देखिएको आरोप लगाए ।

उनले भने, ‘सम्माननीय सभामुख एउटा पार्टीको नेताको आदेश पालकको रूपमा उहाँको भूमिका यसरी रहने कुरा हाम्रा लागि दुखको विषय हो, यसरी निरन्तर रूपमा जाँदैन भन्ने अपेक्षा गर्छौँ । र उहाँको भूमिका जिम्मेवारीपूर्ण रूपमा निर्वाह गर्न सचेत गराउँछौँ ।’ सभामुख घिमिरेले बिहीबार सत्तापक्षका तीन पार्टीका अध्यक्षसँग परामर्श गरेर त्यसै अनुसार बैठक चलाएको पनि थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्