डिआइजीसहित पाँच सय ५१ प्रहरीलाई कोरोना



काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ । शनिबारसम्म डिआइजीसहित पाँच सय ५१ जनामा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

अहिलेसम्म देखिएका संक्रमितमध्ये दुई सय १३ जना निको भएका छन् । अन्य सबै संक्रमित प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ३६ जनामा संक्रमण देखिएको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरी डिस्चार्ज हुने क्रम पनि बढेको एसएसपी कडायतले बताए । 

संक्रमित हुने प्रहरीमा एक नायब महानिरीक्षक (डिआइजी) पनि छन् । प्रहरी अस्पताल महाराजगन्जमा चिकित्सकका रूपमा कार्यरत डिआइजीमा संक्रमण देखिएको हो । त्यस्तै, स्याङ्जा र धादिङ जिल्लाका प्रहरी प्रमुखलाई पनि संक्रमण भएको छ । स्याङ्जाका प्रहरी प्रमुख भने निको भइसकेका छन् । 

प्रहरीमा संक्रमण बढेपछि गणभित्रै आइसोलेसन वार्ड बनाइएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालसँगै रहेको प्रहरीको २ नम्बर गणमा एक सय ५० वार्डको आइसोलेसन बनाइएको छ । जहाँ ४० प्रहरी कार्यरत छन् । सामाखुसीस्थित विपत् व्यवस्थापन गणलाई पनि सारेर आइसोलेसन बनाउनेबारे छलफल भइरहेको छ। 

सरकारले प्रहरी अस्पताललाई कोभिड– १९ उपचारका लागि लेभल– २ स्तरको अस्पताल बनाउने निर्णय गरिसकेको छ । जहाँ अहिले १० वटा आइसियू रहेकोमा १० वटा थप्ने र भेन्टिलेटरसमेत राख्ने तयारी भए पनि बजेट प्राप्त नभएको एक प्रहरी अधिकारीले बताए । 

कारागारमा पनि कोरोना, पाँच कारागारका ४८ जनामा संक्रमण 

कारागारमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । शनिबारसम्म पाँचवटा कारागारका ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको छ । 

केन्द्रीय कारागार, सुन्धारासहित क्षेत्रीय कारागार झुम्का, जिल्ला कारागार पर्सा, बाँके र सिराहामा रहेका कैदीबन्दीमा संक्रमण देखिएको छ । सबैभन्दा धेरै पर्सामा ३२ जनालाई संक्रमण भएको छ । जहाँ एक हजार दुई सय कैदीबन्दी छन् । संक्रमण देखिएका पर्सा कारागारका जेलर भने शनिबार डिस्चार्ज भएका छन् । त्यस्तै बाँकेमा सात र सिराहामा चार कैदीबन्दीमा संक्रमण देखिएको छ । शनिबार सुनसरीको झुम्कास्थित कारागारका चारजनामा संक्रमण देखिएको छ । 

शनिबार नै केन्द्रीय कारागारका एक कैदीमा पनि संक्रमण देखिएको हो । उनलाई हालै उपचारका लागि सिन्धुलीबाट ल्याइएको थियो । ‘केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले भने, ‘उनलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको छ ।’ उनी ७१ वर्षका छन् । ‘कैदीबन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले भने, ‘उनलाई आइसोलेसनमा राखेका थियौँ, उनको अन्य कैदीबन्दी, स्वास्थ्यकर्मी र कर्मचारीसँग सम्पर्क भएको छैन ।’

संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारमा भेटघाट बन्द गरिएको छ । तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक पोख्रेलको भनाइ छ । ‘पर्सामा अदालत र अस्पताल लगिएका कैदीबन्दीमा संक्रमण देखिएको हो,’ उनले भने, ‘यसरी बाहिर लगिएकाहरूलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौँ ।’ 

नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ । संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको छ ।

अहिले देशभरका जेलमा करिब २३ हजार कैदीबन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू हुन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा तीन हजार एक सय कैदीबन्दी छन् । देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नुपरेकाले संक्रमण फैलने जोखिम बढेको हो ।  नयाँ पत्रिका दैनिकबाट

प्रकाशित : साउन ३२, २०७७

प्रतिक्रिया दिनुहोस्