रुपन्देहीको सैनामैना पनि लकडाउन



रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिका पनि लकडाउन भएको छ । छिमेकी स्थानीय तहमा कोरोना संक्रमण बढ्दै गएपछि भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गरिएको हो ।

नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार र व्यवसाय बन्द हुने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए । लकडाउन अवधिमा स्वास्थ्य, दुग्ध, खानेपानी, पेट्रोलियम, विद्युत, दमकल, एम्बुलेन्स, शव वाहन मात्र चल्न पाउने र अन्य सबै खाले निजी तथा सार्वजनिक सवारी सधान चल्न नपाउने पन्थीले बताए ।

नगरपािलकाले कोरोना संक्रमणबाट जोगिन आवश्यक व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गरी सुरक्षित रहन नगरवासीमा अपील गरेको छ ।

यसअघि रुपन्देहीमा बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले पनि लकडाउन गरिसकेका छन् ।

हालसम्मको तथ्यांक अनुसार सैनामैनामा सैनामैना नगरपालिकामा ४३ जनासहित रुपन्देहीमा कोरोना संक्रमितको संख्या ४ सय ६४ पुगेको छ । त्यस्तै १ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित : भदौ १, २०७७

प्रतिक्रिया दिनुहोस्