मुलुकको शान्ति सुरक्षा सन्तोषजनक छ : कुवेर कडायत



विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा २८ हजार २ सय ५७ जना संक्रमित भइसकेका छन् भने ११४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । साथै संक्रमितमध्ये १७ हजार ५ सय ८० जना कोरोनामुक्त भएर घर फर्किएका छन् । विश्वको तथ्यांक हेर्ने हो भने दुई करोड ९० लाख ३ हजार ३ सय ४१ जना संक्रमित भइसकेका छन् भने ७ लाख ७४ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै एक करोड ३९ लाख ३ हजार १ सय ४५ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लो समय सुरक्षाकर्मीमा पनि कोरोनाको संक्रमण बढ्दो छ । एकातिर शान्तिसुरक्षाको जिम्मेवारी अनि अर्कोतिर कोरोनाको संक्रमण । यस्तो अवस्थामा प्रहरी प्रशासनले कसरी सुरक्षा प्रदान गरिरहेको छ, प्रहरीमा कोरोना संक्रमणको चुनौती लगायतका विषयमा द नेपालटपकी समाचारदाता आशा साहले नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतसँग गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ :

कोरोना महामारी दिनप्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा प्रहरी प्रशासनले कसरी सुरक्षा प्रदान गरिरहेको छ ?
–मुलुकमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । यसमा पहिलो कुरा भनेको नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले जुन कोरोनासम्बन्धी स्वास्थ्य सेवा अवलम्बन गर्ने नीति लिएको छ त्यसलाई प्रहरीले पनि अवलम्बन गरिरहेको छ । साथै यस नीतिलाई आम नागरिकले पनि अवलम्बन गर्नुपर्छ भनेर जनचेतना फैलाउने र सुरक्षाकर्मीहरुले पनि प्रयोग गरिरहेका छन् । सुरक्षाकर्मीहरुले प्र्रmन्टलाइनमा बसेर काम गर्नुपर्ने भएकोले अफिसमा काम गर्दा अथवा बाहिर सडकमा काम गर्दा, ट्राफिक प्रहरीको हिसाबले सवारी साधन चेकजाँच गर्दा, दैनिक प्रकोपमा उद्धारमा जाँदा नेपाल सरकारले स्वास्थ्यसम्बन्धी ल्याएको नीतिअनुसार नै काम गरेका छन् । त्यही हिसाबले सुरक्षाकर्मीले स्वास्थ्य नीति अबलम्वन गरेका छन् ।

जनताको सुरक्षाका लागि फ्रन्टलाइनमा खटिएका प्रहरीले स्वास्थ्य सुरक्षाका सामग्री नपाएको गुनासो पनि सुनिन्छ । खास कुरा के हो ?
– सुरु–सुरुका दिनमा यस्तो समस्या थियो । र, बजारमा पनि अभाव नै थियो । त्यसबेला के प्रयोग गर्दा ठीक हुन्छ भन्नेमा पनि सिस्टमेटिक ढंगले नभएको अवस्था थियो । तर, पछिल्लो चरणमा मास्क लगाउने, सेनिटाइजर लगाउने र हात धुने लगायत सामाजिक दूरी कायम गर्ने कुराहरु नै सुरक्षित हुन अपनाउनुपर्ने आवश्यक देखियो । र, यो हामीले अपनाएका छौँ ।

यो महामारीका बेला नेपाल सरकारले पनि केही सहयोग गरेको छ, सामग्रीहरु खरिदको लागि । विभिन्न संघसंस्थाबाट पनि प्रहरी निकायलाई सहयोग भएको छ । हामीले विभागबाट पनि केही स्वास्थ्य सामग्री खरिद गरेका छौं ।

तर, अहिले पनि सुरक्षाकर्मीलाई पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षाका सामग्री प्राप्त भएको देखिँदैन नि ?
– धेरै सामानहरु युज एण्ड थ्रु (प्रयोग गरेर छोड्ने)का सामानहरु छन् । हामीले वर्षमा २÷३ जोर पोशाक पाए जसरी सबैलाई त्यसरी दिन नसकिएला । तर, हामीले यसलाई कसरी व्यवस्थित गरेका छौ भने–फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षाकर्मीले पीपीई लगाउनुपर्छ तर, तीन–चार मिटर पर बसेर काम गर्नेलाई पीपीई लगाउनुपर्ने आवश्यक छैन नि । त्यस्तैले हामीले आवश्यकताअनुसार पीपीईलगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्था मिलाएका छौ । गाडी चेक गर्ने ट्राफिक प्रहरीहरुले फेस शील्ड र मास्कको प्रयोग गरेका हुन्छन् । अन्य गाडीभित्र बस्ने वा कार्यालयभित्र बसेर काम गर्नेले फेस शील्ड र पीपीई लगाउनुपर्ने जरुरी त छैन नि । आवश्यकताअनुसार काम चलाएका छौं ।

प्रहरीमा पनि कोरोना संक्रमण बढ्दो छ । ५५१ जना प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । यो चुनौतिलाई कसरी नियालिराख्नुभएको छ ?
– कोरोना महामारी एक हिसाबको चुनौती नै हो । स्वास्थ्य चुनौती हुनु सुरक्षाका हिसाबले यसलाई चुनौती भन्न मिल्दैन । यद्यपि दिन प्रतिदिन प्रहरी नै संक्रमित देखिदै जाँदा हाम्रो काममा अप्ठ्यारो हुन्छ कि भन्ने मनसाय हुनसक्छ । तर, नेपाल सरकार र गृहमन्त्रालयले हामीलाई दिइएको जिम्मेवारी बहन गर्ने सिलसिलामा यसले खासै ठूलो पार्थिक भिन्नता त ल्याएको छैन । कोरोनाबाट संक्रमित भएका सुरक्षाकर्मीहरुलाई आइसोलेसनमा वा क्वारेन्टाइनमा राख्ने र यो जनशक्तिको सट्टाम हामीसँग रिजर्भ फोर्सको हिसाबले मौज्दात भएको गणहरुलाई परिचालन गरेर व्यवस्थापन गरेका छौं । हाम्रो दैनिक कार्यसम्पादनको हिसबमा यसले खासै प्रभाव पारेको छैन ।

कोरोनासँगै बाढी पहिरोका घटना पनि दिन प्रतिदिन भइरहेको अवस्था छ । यस्तो अवस्थामा प्रहरी संयन्त्र कसरी परिचालित भइरहेको छ ?
– नेपालमा फ्रन्टलाइन एजेन्सीको हिसाबले काम गर्ने संगठन भनेको नेपाल प्रहरी हो । सबैभन्दा पहिला कुद्नु पनि पर्छ । र यसले बाढीपहिरोदेखि विभिन्न किसिमका आम नागरिकमा आइपर्ने, राष्ट्र वा देशमै आइपर्ने विभिन्न क्रियाकलापहरुमा अग्रपंक्तिमा बसेर काम गर्नुपर्ने हुन्छ । अहिले कोरोनाको लडाइ संयुक्त लडाइ भयो आम नागरिक सहितको, पहाडमा बाढीपहिरो होस् वा तराईमा डुबान होस् हाम्रो जनशक्ति वा हामीसँग भएको जनशक्ति र साधन स्रोतहरुले भ्याएसम्म हामीले उद्धारको लागि सक्रिय भएर लागिराखेका छौं ।

प्रहरी कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा बिना चेकजाँच पठाइएको पनि पाइयो । कोरोना संक्रमणको जोखिममा प्रहरी नै संवेदनशील नभएको पनि देखियो नि ?
– प्रहरी कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा जाने यो नियमित प्रक्रिया हो । हाम्रो ठूलो संख्यामा प्रहरी कर्मचारीहरु तालिममा हुन्छन् । त्यहाँबाट निस्केर अर्को ठाउँमा जान्छन् । हामीे तालिममा भइरहँदा संक्रमणको सम्भावना एकदम कम हुन्छ । किनभने हाम्रो बाहिर कन्ट्याक्ट हुँदैन । तर, बाहिर जाने चालक कर्मचारी लगायत अधिकांश कर्मचारीको पीसीआर पेस्ट गर्ने व्यवस्था गरेका छौं । संक्रमण देखिएमा उपचारको व्यवस्था तत्काल गरिहाल्ने व्यवस्था मिलाएका छौं ।

हाम्रो अधिकांश जनशक्ति ब्यारेकमा छन् । ब्यारेकमा बस्दा एउटै दर्जाका जवानहरु एउटा ब्यारेकमा बस्ने, हवल्दारहरु एउटा ब्यारेकमा बस्ने, असई र सई एउटा ब्यारेकमा बस्ने हुन्छ । कोरोना संक्रमण बढ्दै गएपछि ब्यारेकमा पनि दूरी कायम गरेका छौं । यस हिसाबमा ब्यारेकमा संक्रमण देखियो भने पूरै व्यारेकलाई खाली गराएर सबैलाई क्वारेन्टाइनमा राख्ने र ब्यारेकलाई निर्मलीकरण गराउने ’डिसइन्फेक्सन’ गर्ने कामहरु पनि भएको छ । भान्साको व्यवस्थापन लगायत अन्य विभिन्न काममा पनि अहिलेको परिप्रेक्ष्यमा सुधार गरेका छौं ।

कोरोनाको कुरा एकातिर छदै छ । यतिबेला मुलुकमा शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
– मुलुकभरको शान्ति सुरक्षा हेर्ने हो भने सन्तोषजनक छ । तर, अपराधनै भएको छैन भन्न खोजेको चाहि हैन । अपराध भए पनि प्रहरीले आफ्नो सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । यस हिसाबमा प्रहरीले अधिकांश अपराधीलाई पक्राउ गरेर कठघरामा पुर्याएको छ । प्रहरीले दिनुपर्ने शान्ति सुरक्षाबारे आम नागरिकलाई सचेतना पार्ने कामलाई तीव्रता बढाएका छौं । यस हिसाबले मुलुकको शान्ति सुरक्षाको अवस्थामा त्यस्तो ठूलो असर परेको छैन ।

लकडाउनकै बीचमा पनि बलात्कार, हत्या तथा एसिड आक्रमणजस्ता जघन्य आपराधिक घटना बढ्दो छ । यसका पछाडि के कुराले काम गरेको पाउनुभयो छ ? र यसको नियन्त्रणप्रयास कसरी हुँदैछ ?
– यसको कारण भन्ने हो भने यो अनुसन्धानको विषय हो । आपराधिक घटना किन भए कसरी भए भन्ने कुरा जटिल होला । तर, नेपाल प्रहरीको स्थापनाको मूल उद्देश्य भनेको–अपराध नियन्त्रण गर्नु, अपराधको अनुसन्धान र शान्ति सुरक्षा कायम गर्नु हो । यसैले यी भएका जति पनि अपराधका घटना छन्–चाहे त्यो एडिस आक्रमणका घटना होस्, चाहे बलात्कारका घटना होस्, चाहे हत्याका घटना होस् हाम्रो सकेसम्म यस्ता घटना हुन दिनुहुँदैन भन्ने लक्ष्य हो । तर, घटना भइहाल्यो भने पनि अपराधीलाई नियन्त्रणमा लिने र कानुनी कारबाही गर्ने हो । त्यसमा हामी सक्रिय भएर लागेका छौं ।

प्रदेश प्रहरी गठनको लागि आवश्यक गृहकार्य थालिएको छ । यसमा प्रदेश प्रहरी र संघीय प्रहरीको संरचना कसरी बन्दै छ ?
– यसको प्रक्रिया अगाडि बढेको छ । ओएनएम पनि सहमतिमा आयो कुरा आएको छ । अब यो मन्त्रिपरिषद बैठकमा निर्णय हुन्छ । ओएनएम.र मन्त्रिपरिषदमा निर्णय हुने बित्तिकै हाम्रो संघीय संरचनामा अगाडि बढ्छ । तर, अहिले पनि मोटामोटी रुपमा प्रहरी संघीय संरचना नभए पनि सजिलो हिसाबले संघीय संरचनामै छौं हामी । अलि सिस्टमेटिक रुपमा मिलाउन मात्रै फरक पर्ने हो । त्यसैले यो सरकारको तर्फबाट पारित हुने बित्तिकै हाम्रो प्रक्रिया शुरु भइहाल्छ । यसले खासै धेरै समय लगाउँदैन ।

प्रकाशित : भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्