धरानमा मृत्यु भएका राजविराजका युवकमा कोरोना पुष्टि



धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार वीपी प्रष्तिठानमा मृत्यु भएका राजविराज–४ का २८ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो ।

ज्वरो आएको र श्वासप्रश्वासमा समस्या आएपछि युवकलाई सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो । तर, अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले बीपी प्रतिष्ठान धरानमा रेफर गरेको थियो । धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो उनको मृत्यु भएको थियो ।

मृतक युवकको शव राजविराज ल्याइएपछि स्वाब संकलन गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बुधबार राति मृतक युवकको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ आएको छ ।

यसअघि राजविराज नगरपालिका–६ का दुई जना र रुपनी गाउँपालिका ५ का एक जना पुरुषको मृत्यु भएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रकाशित : भदौ ४, २०७७

प्रतिक्रिया दिनुहोस्