चार सय पच्चीस किलोग्राम मटर बरामद



महोत्तरी : महोत्तरी प्रहरीले आज बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो ।

दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् ।

बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्