प्रदेश २ प्रदेशसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको चेतावनी



जनकपुर : चैत १४ गते दिउँसो ३ बजे बोलाइएको प्रदेश २ को तेस्रो अधिवेशनको पहिलो बैठक कांग्रेसले अवरुद्ध गर्ने भएको छ।

वीरगन्जस्थित बिपी उद्यानको नाउँमा रहेको जग्गामा प्रदेश सरकारले जबरजस्ती मधेसी सहिद पार्क निर्माण गर्न शिलान्यास गरेको विरोधमा नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्ने प्रदेश संसदीय दलका नेता रामसरोज यादवले द नेपाल टपलाइ बताएका छन्।

यादवले भने, ‘यो सरकारले केटाकेटी काम गरिरहेको छ, नियम कानुनको धज्जी उडाउने काम गर्दै छ। जबसम्म सरकारले निर्णय फिर्ता लिँदैन हामी कुनै हालतमा सदन चल्न दिन्नौं।’ यसअघि पनि ४ फागुनमा कांग्रेसले प्रदेशसभाको बैठक यसै विषयमा अवरुद्ध गरेको थियो।

चैत १४ दिउँसो ३ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने साथै सभाका सदस्यलाई शुभकामना दिने कार्यक्रम रहेको उपसचिव रञ्जीत यादवले जानकारी दिएका छन्।

उपसचिव यादवका अनुसार त्यसअघि बिहान ११ बजे कार्यसूची तैयार गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। प्रदेश २ मा भएका दुई वटा अधिवेशनमा अहिलेसम्म २७ विधयेक सचिवालयमा दर्ता भएका छन्। तीमध्ये १६ विधेयक पारित भएर प्रमाणीकरणसमेत भइसकेको छ। ८ विधेयक विषयगत समितिमा छलफलका क्रममा रहेको उपसचिव यादवले बताएका छन्।

प्रदेशको लोकसेवा आयोगसम्बन्धी विधेयक यसअघि नै सभामा टेबल भइसकेको छ भने अन्य दुई विधेयक प्रदेशसभामा दर्ता भएको तर टेबल हुन बाँकी छ। यसअघि ४ फागुनमा प्रदेशसभाको बैठक बसेको थियो भने १८ फागुनमा दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गरिएको थियो।

प्रदेश २ सरकारले ८ जिल्लामा आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने गरी प्रदेश प्रशासनसम्बन्धी विधेयक तयार पारेको छ। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको प्रदेश प्रशासनसम्बन्धी विधेयक तेस्रो अधिवेशनमा पेस हुने बताइएको छ।

प्रदेशभित्र उद्योग सञ्चालन तथा व्यवस्थापन गर्न तयार पारिएको विधेयकसमेत तेस्रो अधिवेशनमा प्रदेशसभा बैठकमा प्रस्तुत हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्