मोटरेबल पुल अलपत्र, स्थानीय भन्छन्– ‘ठेकेदारलाई कारवाही होस्’



म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखको स्वाँतखोलामा सुरु भएको मोटरेबल पुल अलपत्र परेको छ। निर्माण व्यवसायीले योजनालाई अधकल्चो बनाएका छन्। तत्कालीन जिल्ला विकास समितिले ठेक्कामार्फत २०७३ असोज ६ गते सुरु गरेको आर्क प्रविधिको मोटरेबल पुल सम्झौताअनुसार एक वर्ष अघि नै सकिनुपर्ने थियो।

तर २०७४ पुस ६ गते काम सम्पन्न गर्ने गरी २ करोड २५ लाखमा सम्झौता गरेको निर्माण कम्पनी स्वच्छन्द गौचन जेभीले योजनालाई अधकल्चो बनाएपछि यस क्षेत्रका सरोकारवालाले निर्माण कम्पनीलाई कारबाहीको माग गरेका छन्।

योजना सम्पन्न गर्न निर्माण कम्पनी लामो समयदेखि कार्यक्षेत्रमा नदेखिएपछि योजना अलपत्र पर्ने खतरा बढेको भन्दै स्थानीय अगुवा बागविर पाइजाले निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। करिब ५० मिटर लामो पुलको ढलान भए पनि बाँकी काम हुन सकेको छैन।

पुलको अभावमा शिखदेखि स्वाँत र किन्दु जाने आउने सवारीसाधनहरु खोलाबाट वारपार गर्नुपर्ने बाध्यता छ। खोलामा बाढी आएपछि बर्खामा यातायातका साधनहरु सञ्चालन हुन नसक्दा आवातजावत र ढुवानीमा समस्या भएको छ। संघीयता कार्यान्वयन सँगै संघ र प्रदेश सरकार कसले आयोजना सञ्चालन गर्ने भन्ने अन्योल समयमै टुंगो लाग्न नसक्दा यसै समस्यालाई देखाएर निर्माण कम्पनीले योजनामा ढिलासुस्ती गरेका छन्।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनीयर ओमराज ढुंगानाले दुखुखोला र शिखको स्वाँता खोला पुल योजना प्रदेशमार्फत कार्यान्वनय हुने गरी हस्तान्तरण भइसकेकाले पुल निर्माणका लागि ठेकेदारलाई ताकेता गरिएको बताए।

यस योजनालाई वैशाख मसान्तसम्म अन्तिम म्याद थप भएकाले यो समयावधिभित्र काम गर्न निर्माण कम्पनीका मुख्य व्यक्तिलाई नै ताकेता गरेर निर्देशन दिइएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए।

‘गत वर्ष पनि ताकेता गरेपछि मात्रै ढलान गरेको थियो, अहिले पनि काम गर्न ढिलासुस्ती गरेको छ, म्याद थप भएको समयावधिमा काम नसके क्षतिपूर्तिसहित कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ’, जिसस प्रमुख केसीले भने।

यता निर्माण कम्पनीका शिवशंकर गौचनले भने भौगोलिक विकटता र प्रक्रिायागत ढिलाइको कारण योजनाको काम रोकिएको बताउँदै आगामी असारभित्र योजनालाई सम्पन्न गर्ने लक्ष्यका साथ पुनः काम सुरु गरेको प्रतिक्रिया दिए।

 

प्रतिक्रिया दिनुहोस्