म्याग्दीमा पार्टी एकता टुंग्याउन नेकपाद्वारा कार्यदल गठन



म्याग्दी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीले स्थानीय तहमा पार्टी एकतालाई पूर्णता दिन कार्यदल गठन गरेको छ।

मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आथित्यतामा जिल्ला संयन्त्रको चौथो बैठकले स्थानीय तह र जनवर्गीय संगठनको एकताको खाका तयार पार्न कार्यदल गठन गरेको हो। बैठकले एकतालाई छिटो टुंग्याउन सांगठनिक एकीकरणसम्बन्धी काम गर्न नेताहरु हरिकृष्ण श्रेष्ठ, गोविन्द पौडेल, बालकृष्ण सुवेदी र टेकबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको हो।

कार्यदलले चैत १७ गतेसम्म एकीकरणको ठोस प्रस्ताव पेस गर्ने निर्णय भएको जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले जानकारी दिए। पार्टीको सम्पत्ति एकीकरण तथा लेबी निर्धारणका लागि गोविन्द पौडेल, हरिकृष्ण श्रेष्ठ, देवेन्द्र केसी र शेरबहादुर केसी रहेको कार्यदलले चैत २० गतेभित्र प्रस्ताव पेस गर्ने जिम्मेवारी दिइएको उनले बताए।

यस्तै पार्टीको गाउँपालिकास्तरमा भेलाहरु सञ्चालन र पार्टी एकताको विषयमा छलफल गरी राय सुझाव लिन बेनी नगरपालिकामा गोविन्द पौडेल र बालकृष्ण सुवेदी, मंगलामा टेकबहादुर विश्वकर्मा र देवबहादुर घले, मालिकामा नवराज शर्मा र रेशम जुग्जालीलाई जिम्मेवारी तोकिएको छ। 

यसैगरी धौलागिरिमा खुमबहादुर बानियाँ र शेरबहादुर केसी, रघुगंगामा देवेन्द्र केसी र विनोद केसी, अन्नपूर्णमा हरिकृष्ण श्रेष्ठ र देवराज सुवेदीलाई जिम्मेवारी तोकिएको इन्चार्ज थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्