नवलपुरमा १० दिन विद्युत अवरुद्ध हुने



नवलपुर : नवलपुरमा मंगलबारदेखि विद्युत अवरुद्ध भएको छ। मंगलबार बिहान परेको पानीसँगै परेको चट्याङले नवलपुरको प्रगतिनगर सबस्टेसनको ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि नवलपुरका अधिकांश ठाउँमा विद्युत अवरुद्ध भएको हो। 

विद्युत अवरुद्ध हुँदा नवलपुरका लघु उद्योग, व्यवसाय, सरकारी तथा निजी कार्यालय, बैंक र वित्तिय संस्था, अस्पताल, सञ्चारमाध्यमलगायत क्षेत्रमा प्रत्यक्ष असर परेको छ। 

नवलपुरका  औद्योगिक क्षेत्रमा ७–१० दिनसम्म विद्युत ठप्प हुने विद्युत वितरण केन्द्र कावासोतीका प्रमुख राजीवकुमार शर्माले जानकारी दिए। चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायत ठाउँमा रहेका औद्योगिक कलकारखानामा विद्युत १० दिनसम्म अवरुद्ध हुने जनाइएको छ।

ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौंबाट समेत प्राविधिक ल्याएर मर्मत गर्ने प्रयास गरे पनि असफल भएकाले विद्युत सुचारु हुन लामो समय लाग्ने भएको हो। 

ट्रान्सफर्मर फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७–१० दिन लाग्न सक्ने प्रमुख शर्माले बताए। तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाइन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २–३ घण्टा पालैपालो विद्युत वितरण गरिने जनाइएको छ। 

कावासोती, चोरमारालगायत क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनबाट दैनिक २÷३ घण्टा विद्युत वितरण गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्