आइसोलसनको अभावका कारण पर्सामा ६०५ जना होम आइसोलेसनमै



पर्सा : पर्सामा प्रहरी र स्वास्थ्यकर्मी सहित थप ६० जना कोरोना संक्रमणको पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको परीक्षणमा पर्सा, बारा र रौतहट गरी ६० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

अस्पतालका अनुसार ४ सय ५० वटा स्वाबको नमुना परीक्षण गरिएकोमा पर्साका ५४, बाराका ५ जना र रौतहटका १ जना गरी ६० जना संक्रमणको पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका ५४ जनामध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना रहेका छन् । यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना, पकाहामैनपुर गाउँपालिकामा २ स्वास्थ्यकर्मी सहित ३ जना , ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा ३/३ जना र सखुवा प्रसौनी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि संक्रमण भेटिएको प्रयोगशालाले जानकारी दिएको छ । ५४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या १ हजार ७ सय ९० पुगेको छ ।

कोरोना लडाईमा जित हासिल गरी पूर्ण रुपमा निको भएर घर फर्कनेको संख्या ७२ महिला सहित ३४५ जना रहेका छन । अहिले पनि नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकमा ७० जना, वीरगन्ज हेल्थ केयर अस्पतालमा १२० जना र नारायणी अस्पतालमा २० बेडको आईसोलेशनमा गरी २१० जनालाई भर्ना गरेर उपचार भईरहेको छ ।

होटल, धर्मशाला लगायत विभिन्न ठाउँमा स्थापना गरिएको सेमि आईसोलेशनमा ४९५ जनालाई राखेर उपचार गर्ने काम भईरहेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । उनले भने, अहिले पनि आईसोलेशनको अभाव रहेका कारण संक्रमितलाई व्यवस्थापन गर्न चुनौती थपिएको छ ।

आईसोलेशनको अभावमा २०४ महिला सहित ६०५ जनालाई होम आईसोलेशनमा राखिएको छ । जसले गर्दा घरपरिवारमा समेत कोरोना संक्रमण फैल्न सक्ने जोखिम बढेपछि सम्बन्धीत निकाय यसको व्यवस्थापन गर्न सकेको छैन ।

पर्सा जिल्लाको कुल संक्रमित मध्ये २२ जना भारतीय नागरिक, ११८ जना पर्साका चिकित्सक र स्वास्थ्यकर्मी , ८६ जना सुरक्षाकर्मी, ६ जना पत्रकार, ८९ जना कैदी थुनुवा, ४८ जना अस्पतालका सफाईकर्मी रहेका छन । त्यसैगरी संक्रमणको कारण ज्यान गुमाएको संख्या पर्सामा २८ पुगि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्