प्लाज्मा थेरापी गरिएका दोस्रो कोरोना संक्रमित व्यक्तिको मृत्यु



धरान : प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । गत शुक्रबार राति मात्र प्लाज्मा थेरापी विधिबाट उपचार गराइएका धरान–१५ निवासी ६७ वर्षीय वृद्धको आइतबार मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा उपचाररत कोरोना संक्रमति वृद्धको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।
‘उहाँको अवस्था एकदमै सिकिस्त थियो, आज ११ बजे १५ मिनेटमा निधन भएको छ,’ प्रवक्ता डा सापकोटाले भने ।

मृतक वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएको थियो । उनी बिपीमा प्लाज्मा थेरापी उपचार गरिएका दोस्रो संक्रमित व्यक्ति हुन् । यसअघि धरान–८ का एक व्यक्तिलाई पनि प्लाज्मा दिइएको थियो भने उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख एवं प्लाज्मा थेरापी उपचारको लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिका सदस्य प्राडा सञ्जीव शर्माले मृतकको अवस्था गम्भीर भएकै कारण प्लाज्मा थेरापी गरिएको बताए ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्