दीपेन्द्रको विस्फोटक ब्याटिङमा नेपालको जित



काठमाडौँ । दीपेन्द्र सिंह ऐरीको विस्फोटक फिनिसको मद्दतमा विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा जित निकालेको छ । पार्क हिल मैदानमा सोमबार भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको हो ।

घरेलु टोलीले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा पूरा गयो । एक समय हातबाट टाढा गइसकेको खेलमा दीपेन्द्र र सोमपाल कामीले मिलेर नेपालका लागि को हासिल गराए ।

अन्तिम दुई ओभरमा ३८ रन चाहिएकोमा दीपेन्द्रले १९औं ओभरमा चार छक्का प्रहार गर्दै ओभरमा २६ रन ल्याएका थिए । अन्तिम ओभरको पहिलो तीन बलमा सोमपालले छक्का, दुई रन र चौका प्रहार गर्दै नेपाललाई जित दिलाए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन जोडे । दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे । नेपालले आजकै प्रतिद्वन्द्वी विरुद्ध २ थप अभ्यास खेल खेल्नेछ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दै छ । आज, १६ / १८ मेमा अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ /२३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो ।

नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्