भारतीय विदेश सचिव गोख्ले आज नेपाल आउँदै, प्रधानमन्त्री ओलीसँग भेट्ने



काठमाडौं : भारतीय विदेश सचिव विजय गोख्ले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग छलफल गर्नका लागि आज नेपाल आउन लागेका छन् । सचिव गोख्लेले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव शंकरदास वैरागीसँग भेटघाट गर्ने कार्यक्रम रहेको भारतीय दुतावास स्रोतले जनाएको छ । 

दुई दिवसीय औपचारिक भ्रमणमा नेपाल–भारत सम्बन्धको विषयमा छलफल हुने बताइएको छ । खासगरी उनले पछिल्लो समय भारत–पाकिस्तानबीच देखिएको विवादको विषयमा नेपालको धारणा के रहेको छ जस्ता विषयमा प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्ने दुतावास स्रोतले जनाएको छ । पुलवामा घटनालाई लिएर भारत र पाकिस्तानबीच द्वन्द्व हुँदा नेपालले स्पष्ट धारणा सार्वजनिक नगरेको भन्दै भारत रुष्ट देखिएको छ  ।

लगानी सम्मेलन, नेपालमा भारतले गरेको लगानी तथा विकास सम्बन्धि विषयमा पनि छलफल गर्ने बताइएको छ । केही महिनादेखि नेपाल र भारतका सचिवबीच भिडियो कन्फरेन्स पनि नियमित हुँदै आइरहेको छ त्यसको विषयमा पनि सचिवस्तरीय छलफल हुने बताइएको छ । सचिव गोख्लेका साथमा सहसचिव सुधाकर दलेला पनि रहने बताइएको छ । 

सचिव गोख्ले पनि यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भ्रमण दलमा आएका थिए भने विष्मस्टेक सम्मेलनमा विदेश मन्त्री सुष्मा स्वराजका साथमा नेपाल आएका थिए । नेपाल सरकारले आफ्नो तरिकाले त्यहाँका व्यावसायीलाई लगानी सम्मेलनमा सहभागी गराएको स्रोतको दावी छ । सचिवमा नियुक्त भएपछि गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो ।

प्रतिक्रिया दिनुहोस्