नक्कली शैक्षिक प्रमाणपत्रधारीबिरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० फागुन २०७१ मा प्रहरी निरीक्षक भएका खेमराज कठायतले बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

कठायतले बढुवाका लागि पेस गरेको भारतको इलाहाबाद विश्वविद्यालयको वाणिज्यमा स्नातक तहको प्रमाण पत्र नक्कली भएको अख्तियारको दाबी छ ।  उनले नक्कली प्रमाणपत्र बुझाएर बढुवा भई सेवा सुविधा लिएकाले भ्रष्टाचार भएको आयोगले ठहर गरेको हो ।

आयोगले कठायतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको सजाय माग दाबी गरेको छ । 

आयोगले बिहीबार नै प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा अङ्गरक्षक गणमा कार्यरत सई सुरेशकुमार गुरुङविरुद्ध समेत भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवा भई सेवा सुविधा लिएकोले गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको आयोगले जनाएको छ । 

उनले पेस गरेको भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्को इण्टरमिडिएट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो । 

उनी बिरुद्ध १ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको छ ।

अख्तियारले आजै कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुरकी तत्कालीन उपप्रशासक शारदा कुमारी पौडेलबिरुद्ध पनि मुद्दा दायर गरेको छ । उनी हाल व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, त्रि.वि.मा सह–प्रशासक पदमा कार्यरत छिन् । 

उनले संस्कृत विश्वविद्यालय वाराणसी, भारतबाट उत्तरमध्यमा तहको नक्कली नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवा भई सेवा सुविधा लिएको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्